विकट गाउँ पुगेका अर्थमन्त्रीलाई स्थानीयबासीले भने हामीलाई बचाउनुहोस डाक्टरसाव
गृहजिल्ला नुवाकोट पुगेका अर्थमन्त्री डा रामशरण महतसँग स्थानीयबासीले एकस्वारमा भने डाक्टरसाव हामीलाई बचाउनुहोस । ठूलो विपत्तिबाट बचियो, आगामी दिनमा हामीलाई बचाउने जिम्मा तपाईको हो । खान नपाएर मर्नु नपरोस ।
नुवाकोटका विकट गाउँमा पुगेका अर्थमन्त्री डा महतसँग उनीहरुले भने, बाली पाकेको छैन घरमा भएको घरले नै पुरेको छ । अर्को बाली नपाकुन्जेल अझै केही खानेकुराहरु चाहिन्छ । उहाँले गृहजिल्ला नुवाकोटका बेत्रावती लगायत गेर्खु, गेर्खुटार, बागेश्वरी, लच्याङ, ओर्लिनी, नर्जा गाउँ विकास समितिका विभिन्न गाउँहरुमा पुगी स्थानीय जनतासँग अन्तरक्रिया गर्नुभएको थियो । यसका अतिरिक्त उहाँले रसुवा जिल्लाको सीमानजिकका गाउँको पनि अवलोकन गर्नुभएको थियो । उहाँले गाउँका जनतासँग साक्षात्कार गरी सान्त्वाना दिनुभयो । अर्थमन्त्री डा महतले पठनपाठन गर्न थाल्नुपर्ने भन्दै केही विद्यालयहरुलाई ६।७ कोठा हुन सक्ने पाल पनि वितरण गर्नुभएको थियो ।
यसै क्षेत्रबाट निर्वाचित उहाँले भूकम्पले पु¥याएको क्षतिको स्थिति तथा सरकारले उपलब्ध गराएको राहत वितरण प्रभावकारी भए नभएको प्रत्यक्ष जानकारी लिनुभएको थियो । ठाउँ ठाउँमा भेला भएका स्थानीयवासीलाई ढाडस दिदै भन्नुभयो, विपत्ति कहिले आउँछ, थाहा हुँदैन । त्यसैले अव भूकम्प प्रतिरोधी घर बनाउनुपर्छ, विकट ठाउँ छोडेर नजिक बस्नुपर्छ जहाँ आपतविपत पर्नासाथ सरकारले उद्दार तथा राहत तत्काल पु¥याउन सकोस । अवको पुनर्निर्माण अझ राम्रो र सुन्दर बनाइने उल्लेख गर्दै उहाँले अव आफ्नै घरदेखि डर लाग्ने होइन, निद्रा लाग्ने भूकम्प प्रतिरोधी बनाउनुपर्छ भन्नुभयो । जनतालाई नआत्तिन आग्रह गर्दै अर्थमन्त्री डा महतले भन्नुभयो, यो महाविपत्तिमा जनतालाई राहत तथा पुनर्वासको व्यवस्था गर्न राज्यको स्रोत साधनका अतिरिक्त विभिन्न संघ संस्था दातृ निकायहरुबाट थप साधन स्रोत जुटाउन सक्रिय भएर लागिपरेका छौं ।
सरकारले अल्पकालिन र दीर्घकालिन राहतका लागि के गर्ने भन्ने निर्णय गरिसकेको उल्लेख गर्दै उहाँले भन्नुभयो, सरकारले दिने कुरा दिन्छ । अस्थायी बसोबासको व्यवस्थाका लागि काम गर्न थालिहाल्नुहोस । आफैले बनाएछन भनेर सरकारले नदिने भन्ने कुरै आउँदैन । निर्णय भएको कुरा तपाईहरुले पाउनुहुन्छ । कोही नछुटुन र राहत विकट गाउँ गाउँसम्म पुगोस, उहाँले भन्नुभयो, कसैले पाएको छैन भने नाम लेखाउनुहोस, यथाशीघ्र पठाउन प्रयास गर्नेछु ।
उहाँ भूकम्पका कारण ज्यान गुमाउन पुगेका घर परिवारलाई भेट्नुभयो र बचेका परिवारलाई सान्त्वाना दिनुभयो । अजेय र अमर कोही पनि छैन भन्दै भावुक मुद्रामा उहाँले भन्नुभयो, सबैले एकदिन मर्नैपर्छ । यो सत्य कुरा हो । परिवारका बाँकी सदस्यहरुसँगै बसेर बाँकी जीवनलाई जीउनैपर्छ र सामान्य जीवनमा फर्किनैपर्छ । बाँचेकाहरुलाई हेरेर चित्त बुझाउनुहोस र बिछोडको पीडा भुल्दै जानुहोस ।
यसैबीच आफ्नै प्रयास, स्थानीयबासी र केही संघ संस्थाहरुको सहयोगमा जिल्लामा १७ वटा विद्यालय अस्थायीरुपमा सञ्चालनमा ल्याउन सक्नेगरी निर्माण गरिएको कांग्रेसका जिल्ला सचिव रमेशकुमार महतले जानकारी दिनुभयो ।