जापानले सदासयताका साथ सहयोग गरिरहेको छ ः अर्थमन्त्री डा.महत


काठमाडौं, जेष्ठ १२ । अर्थमन्त्री डा रामशरण महतसँग नेपालका लागि जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी जाइकाका अध्यक्ष अकिहिको तानाकाले अर्थमन्त्रालयमा भेटघाट तथा छलफल गर्नुभयो । सो अवसरमा नेपालमा हालै गएको भूकम्प, यसले पु¥याएको क्षति र पुनर्निर्माणका बारेमा विस्तृत छलफल भएको थियो ।
भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले नेपालको भूकम्पको क्षतिप्रति सहानुभूति राखी सदासयताका साथ सहयोग गरिरहेकोमा जापान सरकारलाई धन्यवाद दिनुभयो । हालै अजरवैजानको बाकुमा आयोजित एसियाली विकास बैंकको बैठकका अवसरमा जापानका उपप्रधानमन्त्री तथा अर्थमन्त्री तारो आसोसँग भएको भेट र उहाँले नेपाललाई सहयोग गर्न सहायता सम्मेलनको संयोजन गरिदिने आश्वासन दिएको अर्थमन्त्री डा महतले स्मरण गर्नुभयो । उहाँले आगामी जुन २५ मा नेपाल सहायता सम्मेलन आयोजना गरिने र सो सम्मेलनमा जापान सरकारको तर्फबाट उच्च नेतृत्वको सहभागिता चाहेको स्पष्ट पार्नुभएको थियो । उहाँको भनाई थियो, जुलाई ८ भित्र बजेट प्रस्तुत गरिसक्नुपर्छ । सहायता सम्मेलनमा दाता मुलुक तथा संस्थाहरुबाट सहयोगको मोटामोटी घोषणा भएमा पुनर्निर्माणलाई सहयोग पुग्नेछ ।
उहाँले भूकम्पले नेपालको निजी घर तथा सम्पत्ति, सरकारी कार्यालय, हस्पिटल, विद्यालय, राष्ट्रिय अन्तर्राष्ट्रिय सम्पदाहरुमा ठूलो क्षति पु¥याएपनि सरकार तिनलाई छिटै पुनर्निर्माण गर्ने र अझ राम्रो तथा व्यवस्थित पुनर्निर्माण गर्ने स्पष्ट पार्नुभयो । क्षति ठूलो भएको जानकारी दिदै उहाँले जीडीपी नै घट्ने बताउनुभयो र पुनर्निर्माणका लागि मित्रराष्ट्र तथा दातृ निकायहरुबाट ठूलो सहयोगको आवश्यकता रहेकोमा जोड दिनुभयो । कतिपय गाउँलाई नै स्थानान्तरण गर्नुपर्ने र यसका लागि ठूलो खर्च लाग्ने उहाँको भनाई थियो । भेटघाटका अवसरमा अर्थमन्त्री डा महतले ऋणभन्दा अनुदान र सामानभन्दा नगदमा सहायता खोजेको पनि स्पष्ट पार्नुभयो ।
सो अवसरमा जाइकाका अध्यक्ष तानाकाले पुनर्निर्माणका लागि ठूलो सहायता जुटाउनुपर्ने भएकोले सहायता सम्मेलन नै गर्नु स्वागतयोग्य भएको उल्लेख गर्नुभयो । जापान नेपालसँग लामो मित्रवत सम्वन्ध राख्न चाहन्छ भन्दै उहाँले शिक्षा, स्वाथ्य लगायतका पूर्वाधार निर्माणमा जापान सहयोग गर्न र काम गर्न इच्छुक रहेको स्पष्ट पार्नुभएको थियो । अध्यक्ष तानाकाले नेपालको आवश्यकता अनुसार जापानले सहयोग गर्ने जानकारी पनि दिनुभयो ।
भेटघाटका अवसरमा अर्थसचिव सुमनप्रसाद शर्मा, सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि जापानी राजदूत मासासी ओगावा तथा जाइकाका अधिकारीहरुको उपस्थिति रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न