नविन सहकारीले ग्रोसरी स्टोर्स सञ्चालन गर्ने
पोखरा, २२ जेठ । पोखराको गैह्रापाटनस्थित नवीन सहकारी एवम् बचत लिमिटेडले ‘नवीन ग्रोसरी स्टोर्स’ सञ्चालनमा ल्याउने भएको छ । स्टोर्सको यही जेठ २९ गते शुभारम्भ गरिने लिमिटेडले जनाएको छ ।
अत्याधुनिक पद्धतिद्वारा सञ्चालनमा ल्याउन लागिएको स्टोर्समा दैनिक उपभोग्य सामग्रीसहित डिपार्टमेन्ट स्टोर्समा उपलब्ध सम्पूर्ण वस्तु उपलब्ध हुने छ । उपभोक्तालाई सहुलियत मूल्यमा सामान बिक्री गर्ने उद्देश्यले सञ्चालनमा आउने स्टोर्समा गुणस्तरीय सामग्री राखिएको सहकारीका सेयरधनी श्यामजी केशव पराजुलीले जानकारी दिनुभयो ।
उक्त ग्रोसरी स्टोर्स सहकारीकै भवनमा रहेको छ । स्टोर्समा हालसम्म करिब रु दुई करोडको लगानी रहेको र आगामी दिनमा लगानी समेत थपिने छ । स्थानीयवासीलाई आर्थिक गतिविधिमा संलग्न गराउने र पुँजी सङ्कलन र ऋण प्रवाह गर्ने उद्देश्यले २०६४ सालमा सहकारीको स्थापना भएको हो ।
सहकारीको अधिकृत पुँजी रु पाँच करोड रहेको छ । स्थानीयवासी सम्बद्ध सहकारीमा ३५७ सेयर सदस्य रहेका छन् ।