ओरेण्टल सहकारीका गोप्य कागजात १२ रुपैयाँ किलोमा बेचियाे


ललितपुर । सहकारी क्षेत्रमा संचालकहरूको मनोमानी र आफ्नै भकारी भर्ने प्रयत्न हुँदा समयसमयमै यो क्षेत्र तातिन्छ । सहकारीको एउटा नसुल्झिएको र अझै तातो विषय हो ओरेण्टल सहकारी । हुन त आकस्मिक बन्द गरिएको भनिएपनि ओरेण्टलको मुद्दा किनारा लागिसकेको छैन । निक्षेपकर्ताले आफ्नो पैसा फिर्ता पाएका छैनन । यसैको एउटा श्रृंखलाको रूपमा ओरेण्टल सहकारीको थप बदमासी अनलाइन पत्रिकाले रंगेहात भेटेको छ । केहीदिन अघि कबाडीमा यस सहकारीसँग हिसाबकिताबका कागजात भेटिएपछि सहकारीको कर्तुत खुलासा भएको छ । कबाडीमा ओरेण्टलको सबै वर्षका हिसाबकिताब कागजी मोलमा (किलोको १२ रुपैयाँ) मा बेचिएको थियो । कबाडीले ओरेण्टलबाट करिब ३ सय किलो कागजात दिइएको छ ।   सबै कागजात ओरेण्टलको संचालन वर्षदेखि हालसम्मको दैनिक रेकर्ड, मुद्दती र दैनिक नगद संकलन हिसाबकिताबका कागजात छन् । त्यस्तै मुद्दती निक्षेपकर्ता र शेयर होल्डरका जम्मा भएको रकमसमेत छन् । यसबारे सोधीखोजी गर्दा कबाडी साहुले कागजातबारे बोल्न मानेनन्, न उनले कागजात दिन माने । उनले भने, ‘हामीलाई बाहिर कतै नदिनु भनेको छ ।’ जति प्रयत्न गर्दापनि दिन नमानेपछि हामीले केही सक्कली फाइल लुकाउन बाध्य भयौं । कबाडी साहुले भने, ’कागजात सबै गाडीबाट यहाँ बेच्न ल्याइएको र आजै यसलाई व्यवस्थापन गर्नु भनिएको छ ।’ हामी कबाडीमा पुग्दा त्यसलाई कागज पगाल्ने कारखाना पठाउने तयारी हुँदै थियो । ओरेण्टलको कथा मैतिदेवीमा प्रधान कार्यालय रहेको ओरेण्टल को–अपरेटिभ निकै चर्चित सहकारी थियो । मुद्दतीमा ओरेण्टलले १६ प्रतिशतदेखि २० प्रतिशतसम्म व्याज दिने गरेको थियो । ओरेण्टल को–अपरेटिभ लिमिटेडबाट चार अर्बभन्दा बढी रकम हिनामिना भएको थियो । .१० हजारभन्दा बढी निक्षेपकर्ताको रकम ओरेण्टेलमा जम्मा थियो । त्यो बेला जनताको धन संरक्षण नभए देशमा बैंकिङ क्षेत्रमा विश्वास गुम्ने र अर्थतन्त्रमा दुरगामी नकारात्मक असर पर्नसक्ने खतरा भन्दै आवाज उठेपनि सम्बन्धित निकायले सुधीरलाई छुन समेत सकेका थिएनन् । नेपाल सरकारलाई ब्याजमा पाँच प्रतिशतको दरले अग्रिम कर कट्टी गरी वार्षिक तीन करोडभन्दा बढी राजश्व दाखिला भएको संस्था अकस्मात् बन्द भएको जानकारी आयो । यहीबेला सम्बन्धित निकायहरुले अनुसन्धानमा चासो नदेखाएको आरोप समेत लागेको थियो । ओरेण्टेल सहकारी संस्थाको १४ वटा शाखा संचालन गरिएको थियो । करिब १७ वर्ष देखि ओरियन्टल को अपरेटिभ लिमिटेड संचालन हुँदै आएको थियो । ओरेण्टलका बारेमा डिभिजन सहकारीका प्रमुख रामहरि लामिछानेले भने, ’सहकारी खारेज भएपछि हिसाबकिताब किन चाहियो ? बेच्न मिल्छ नै ।’ उनले थपे, ’तर अनुसन्धान चलिरहेको सहकारीका कागजात बेच्न पाँईदैन ।’ ओरेण्टलसँग आगो यस सहकारीका संचालक सुधीर बस्नेत पक्राउ पर्ने बित्तिकै निक्षेपकर्ताहरू जुर्रमराए । मानभवनस्थित ओरेण्टेलको सहकारीमा घेरा हाले । डिभिजन कार्यालयमा पुगेर हारगुहार गरे । यही बेला हो डिभिजन प्रमुखलाई आक्रोशित निक्षेपकर्ताले सहकारी अधिकृतलाई शौचालयमा थुनेर कारवाही प्रक्रिया अघि बढाउन बाध्य पारिएको थियो । निक्षेपकर्ताहरुले ओरेन्टेलका संचालक सुधिर बस्नेतको घर घेराउ समेत गरेका थिए । बस्नेतले निक्षेपकर्ताहरुको सम्पुर्ण रकम हाउजिगंको काममा लगाएको आरोप समेत रहेको छ । जुन पछि गएर खुलेको थियो । को हुन् सुधीर ? ओरेण्टल सहकारीका संचालक हुन् सुधीर बस्नेत । हाउजिङ किंग भ नेर चिनिने सुधीरले करिब चार अर्बको आर्थिक घोटाला गरेको रेकर्ड सहकारी विभागसँग छ । मास्टर माइन्ड भएका सुधीरले अनेक दाउपेचमा आर्थिक घोटाला गर्न भ्याएका छन् । आफ्नै कर्मचारीकै नाममा ठूला कम्पनी खोलेर आर्थिक चलखेल गर्न खप्पिस सुधीरले कमाएको सम्पत्तिमा सहकारीका सदस्यहरूको करिब ४ अर्बको निक्षेपपनि थियो । उनी प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहेको अन्य आर्थिक क्षेत्रहरुमा समेत ठूलो हिनामिना र दुरुपयोग भएको भन्दै निक्षेपकर्ताहरुले सचेतसमेत गराएका थिए ।
साभार : अनलाईन पत्रिका


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न