गाउँका सहकारीबाट सिक्ने कि !


-तुलसी सुवेदी-

एक्लै हिडे के हो, के हो, सँगै हिडे अवश्य पुगिन्छ भनेझैँ एक्लै हिँडेर आर्थिक विकासले गति लिन सकिदैँन । त्यसकारण नै विश्वमै सहकारीको अवधारण आएको हो । तर नेपालको सहकारी विकास क्रमलाई हेर्दा अधिकांश सहकारी साहुकारी भएका छन् । जसले बैंक भन्दा पनि चर्को ब्याज लिएर सदस्यको चरम शोषणा गरिरहेका छन् । खासगरी काठमाडौंलगायत अधिकांश शहरमा खोलिएका सहकारीले पैसाको किनबेच गर्ने काम बाहेक अरु केही गर्न सकेका छैनन् । जसले सदस्य एंव गैंर सदस्यलाई ऋण दिदाँ २५ प्रतिशत बढीमा ऋण दिई चरम शोषण गरिरहेका छन् तर ग्रामीण क्षेत्रमा खोलिएका सहकारीले सदस्यको सेवासँगै कृषि काममा खटिएका छन् । ती सहकारीबाट यहाँका सहकारीले किन नसिक्ने ?

सहकारीमा समूहिक भावना अनुरुप सबै गतिविधि अगाडि बढ्छन् । तर पछिल्लो समयमा सहकारीमा विकृती आएको छ । अधिकांश सहकारी प्रालिका रुपमा सञ्चालित छन् । अझ शुक्षम ढंगले विश्लेषण गर्ने हो भने सहकारी कुनै एक व्यक्तिलाई ठेक्कामा चलाउन दिइएजस्तो भएको छ काठमाडौंका सहकारीमा । यहाँका सहकारी सहकारीमा हजारौं सदस्यब बनेता पनि निर्णयक शक्ती एकजना मात्र हुने गरेको र उ नै सर्वेसर्भा भएर सदस्यको पैसा चरम दुरुपयोग गरेको पाइएको छ र । संस्थाको कार्यकारी व्यक्तिले जे चाहो त्यहीअनुरुप संस्था प्रालिझैं चल्दै आएका कारण सहकारीमा दिनप्रतिदिन समस्या आउन थालेको छ । जुन समस्या सिंगो राष्ट्रले चाहेर पनि समस्या समाधान गर्न सक्दैन्, सकिरहेको छैन् ।
सहकारीमा सामुहिक भावनाको प्रतिनिधित्व हुनपर्ने भएपनि उपत्यकाका अधिकांश सहकारीमा सदस्यहरु बिचरा मात्र भएका छन् । जसले नेतृत्व गर्दै आएका साहुजीको विरोध गर्न सकिरहेका छैनन् । सदस्यको भावना गौण हुदाँ कार्यकारी व्यक्तिले गरेको निर्णय मान्न वाध्य भएका छन् उनीहरु । तर काठमाडौं शहरलाई छोडेर ग्रामीण भेगका सहकारीको अवलोकन गर्ने हो भने बिल्कुलै फरक ढंगले सञ्चालन भएका छन् । जहाँ सबैको भावनाको कदर हुन्छ र सदस्यमैत्री ढंगबाट सहकारी सञ्चालित छन् ।
हालै सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपत्यका बाहिरका सहकारीको अवलोकन गराएको थियो । त्यसक्रममा काठमाडौं उपत्यका र उपत्यकाबाहिरका सहकारीको अवलोकन गर्दा बिल्कुल भिन्न पाइयो । गाउँका सहकारी बिल्कुलै सिद्वान्तमा चलेका छन् । त्यहा सहकारीको असल अभ्यास भएको छ । सदस्यको भावनाको कदर भएको छ । केहीमा सहकारी शिक्षामा कमी भएपनि अधिकांश सदस्य सहकारीमा समर्पित छन् । अधिकांश सहकारी एंव सदस्यले कृषि क्षेत्रमा काम गर्दै आएका छन् । सहकारी कृषिमा आकर्षित हुदाँ सदस्यको जीवनस्तरमा पनि सुधार भएको छ भने उत्पादनशील क्षेत्रमा पनि योगदान पुगेको छ ।
समग्र सहकारीको अध्ययन गर्ने हो भने देशभर आधा भन्दा बढी बचत तथा ऋणको कारोबार गर्ने सहकारी छन् । शहरका सहकारीका सदस्यले कृषिभन्दा अन्य क्षेत्रको काम गर्नका लागि ऋण लिने गरेका छन् । काठमाडौंका सहकारी एंव सदस्यले कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न रुचाउँदैनन् ।
अहिले सहकारीले कुल ग्राहस्थ उत्पादनमा ५ प्रतिशत योगदान पु¥याएको छ । वास्तवमा गाउँका सहकारी जस्तै सबै सहकारीले कृषिलगायत उत्पादनशील क्षेत्रमा लगानी गर्न सके सहकारीको गरिमा ह्वाट्टै बढ्ने छ । तर यसतर्फ सोच्दैनन् शहरका सहकारी ।
खासगरी सहकारीका नाममा शहरी क्षेत्रका सहकारी साहुकारी भएका छन् । कर्जा लगानी गर्दा चर्काे ब्याज असुल्ने र निक्षेप जम्मा गर्दा थोरै मात्र ब्याज दिने उनीहरुको नियती नै बनेको छ । गाउँका सहकारीमा निक्षेप संकलन र कर्जा प्रवाहमा खासै अन्तर पाइदैैन । तर शहरी क्षेत्रका सहकारीले निक्षेप लिदाँ थोरै ब्याज दिने र कर्जा दिदाँ धेरै ब्याज असुल्ने गरेको छन् । शहरी क्षेत्रमा दिनप्रतिदिन सहकारी दर्ता बढेपनि सदस्यको भावना र मर्मअनुरुप काम गर्ने गरेका छैनन् । शहरी क्षेत्रका सहकारी पैसाको किनबेचमा मात्र तल्लिन छन् । सदस्यको हितका लागि सहकारीमार्फत सेवा दिइरहेको चिफ्ला भाषण गर्ने गरेपनि सदस्यलाई नै चर्को ब्याजदरमा ऋण दिएर सञ्चालक मोटाइरहेका छन् ।
देशमा सहकारी दिनप्रतिदिन थपिरहेका छन् । साथसाथै विकृति, विसंगति पनि बढेको छ । सहकारीको कारोबार पनि बढेको अवस्था छ तर सहकारीले उत्पादनशील क्षेत्रमा लगानी गर्न भने सकेको छैन् । उनीहरुको ध्याउन्ती नै २२÷२५ प्रतिशत भन्दा बढी ब्याज लिएर सदस्यलाई शोषण गरिरहेका छन् । नेपालमा सहकारीको स्थापना हुने क्रम बढेको छ । हालसम्म ३१ हजारभन्दा बढी सहकारी स्थापना भइसकेका छन् । तर सरकारले महत्व दिएअनुरुप सहकारीले गतिलो भूमिका निर्वाह गर्न सकेको छैन् । नेपालको अन्तरीम संबिधान २०६३ ले सहकारीलाई तीन खम्बाका रुपमा समावेश गरिसकेको छ तर सहकारीले आफ्नो भूमिका निर्वाह गर्न सकेको छैन् । सहकारी अर्थतन्त्रको तीन खम्बामा राखेर घाँडोसमेत बन्न पुगेको छ ।
गाउँगाउँमा सहकारी सञ्चालनमा आउन थालेका छन् तर उनीहरुसँग पूँजी कम हुन्छ । जसले रचनात्मक काम गर्न भने सकिरहेका छैनन् तर शुक्षम ढंगले हेर्ने हो सहकारी दर्तापछि र दर्ता हुनु अघिको तुलना गर्दा सदस्यको जीवनस्चरमा आकाश पातल परिवर्तन आएको छ । अब सरकारले नै अग्रसरता लिएर खासगरी गाउँका सहकारीलाई विशेष प्राथमिकता दिन आवश्यक छ । उनीहरुलाई तालिम, सूचना र शिक्षा दिन सके अर्थतन्त्रमा सहकारीले उच्चतम योगदान दिन सक्छ । यसतर्फ न त राज्यको ध्यान पुग्न सकेको छ न त सहकारीको ठेकेदार सम्झने सहकारीका नेताहरुको नै ।
वास्तवमा सहकारीको विकास भाषण गरेर हुदैँन । सहकारीको विकृति भाषण गरेर निमिट्यान्ट हुदैँन । भाषण गरेर सहकारीले सदस्यको शोषण रोकिदैँन अब शहरका सहकारीले जो आफूलाई बैंकसँग तुलना गर्न रुचाउँछन् ती सहकारीले गंभीर ढंगले सोच्न आवश्यक छ । सर्वप्रथम त सहकारी सदस्य केन्द्रित हुनुपर्छ । उनीहरुको ब्याजदर पुरै घटाएर न्यून दरमा राख्नुपर्छ । अनि कृषिलगायत उत्पादनशील क्षेत्रमा लाग्न र सदस्यलाई उत्प्रेरित गर्न जरुर भइसकेको छ ।
सहकारीले गाम्रीण भेगमा बित्तीय क्षेत्रमा राम्रो सहयोग गरेको छ । यतिमात्र होइन आकर्षक ब्याजको लोभ देखाउने र निक्षेप आफूहरु तान्ने प्रवुति पनि सहकारीमा यथावत् छ । यो सहकारी सिद्वान्तविपरित हो । उक्त नियतको अनुसरण गर्ने सहकारीले निक्षेप फिर्ता गर्न नसकेको उदाहरणहरु हामीकहाँ प्रशस्त छन् । अहिले समस्याग्रस्त सहकारीको समाधानार्थ गठित उच्च स्तरीय छानविन आयोगमा उजुरीका चाँङ लागेका छन् । ८ हजार भन्दा बढी निक्षेपकर्ताले निक्षेप फिर्ता नपाएको उजुरी परेको छ । करिब १० अर्बका हारहारीमा सहकारीले निक्षेप फिर्ता गर्न नसकेको विकराल समस्या हामीसँग ताजै छ । अब ती सहकारीपीडितको समस्या कसरी सम्बोधन गरिन्छ, त्यो त हेर्न बाँकी नै छ ।
जेहोस् शहरका सहकारीले गाउँका सहकारीबाट सिक्नुपर्ने धेरै छ । यदी सहकारीप्रति सर्वसाधारणको आकर्षण बढाउने हो र सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्न सक्ने हो भने सहकारी सुधारका लागि केही काम गर्न जरुर भइसकेको छ । सर्वप्रथम त सहकारीलाई उत्पादनमैत्री बनाउनुपर्छ । सहकारीले प्रत्यक्ष लगानी गरेपनि सदस्यलाई ऋण दिदाँ भएपनि कृषिलगायत उत्पादनमा पहिलो प्राथमिकता दिनै पर्छ । यसका लागि थप नीतिको अपरिहार्य भइसकेको छ । अर्को कुरो जुनसुकै क्षेत्रका लागि भएपनि ऋण दिदाँ ब्याजदर कम हुनुपर्छ । साँच्चै भन्ने हो काठमाडौंका सहकारीले सदसयको ब्याजदरबाटै ढाड सेक्ने काम गरेका छन् । यहाँका अधिकांश सदस्यहरुले आफ्नो सहकारीबाट भन्दा बैंकबाट ऋण लिन इच्छुक देखिन्छन् । किनभने आफ्नो सहकारीभन्दा आधा कम ब्याजदरमा उनीहरुले ऋण लिन सक्छन् । तर गाउँमा सञ्चालित सहकारीले आफ्ना सदस्यलाई सहुलियतमा ऋण दिदैँ आएका छन् । उनीहरुले सदस्यलाई ऋण दिने र सदस्यबाट निक्षेप जम्मा गर्ने ब्याजदर ६ प्रतिशतभन्दा नाघेको पाइएन तर काठमाडौंका सहकारीले १२ प्रतिशत बढी नै फरक पार्ने गरेका छन् । अब सहकारीका यस्ता विकृति रोक्न सम्बन्धीत निकाय चनाखो हुनुपर्छ । न कि सहकारीलाई असनमा छोडिएको साँढेजस्तो खुलमखुला छोड्न हुन्न । सहकारी स्वनियमा चल्ने संस्था भन्दैमा उनीहरुलाई स्वच्छन्दता दिन हुदैँन । अनुगमन र नियमलाई प्रभावकारी बनाउनुपर्छ । त्यो भन्दा पहिला त नियम बलियो बनाउनुपर्छ । गल्ती गर्ने सहकारीलाई हदैसम्मको कारवाही हुन सकोस् । राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहन हुन् सकोस् ।  tulsi953gmail.com


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न