सहकारीले दियो पशु सुत्केरी खर्च


पाल्पा, जेष्ठ २८ । सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुरले कृषकलाई व्यवसायिक पशुपालन तर्फ आकर्षित गराउन पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानवीय क्षेत्रमा लागु गरेको सुत्केरी खर्च कार्यक्रम सहकारीले पशुमा पनि लागु गर्न लागेको हो ।
नेपालमै पहिलो पटक यस सहकारीले पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएपछि कृषकहरु पशुपालन व्यवसायतर्फ आकर्षित हुन थालेका छन् । सहकारी संस्थामा मीमा गरेका पशु सुत्केरी भएमा संस्थाले सुत्केरी खर्च रकम वापत पाँच सय रुपैयाँ किसानलाई दिने गरेको छ । पशुमा सरसफाई गर्ने चेतना जागोस् र सुत्केरी अवस्थामा खानपानमा कुनै कमी नहोस् भनी किसानमा जनचेतना फैलाउन सहकारीले सुत्केरी खर्च कार्यक्रम ल्याएको जानकारी दिएको छ ।
सहकारी संस्थाका अध्यक्ष कृष्णकुमार अर्यालले सहकारी भनेको सहकार्य गरेर अगाडी बढ्ने भएकाले पशुको सुत्केरी खर्च दिन लागिएको बताउनुभयो । किसानलाई व्यवसायिक बनाउन संस्थाले प्रत्यक्ष लाभान्वित हुने खालका कार्यक्रम संचालन गरेको उहाँको भनाई छ ।
सहकारीले पशुमा सुत्केरी खर्च कार्यक्रम ल्याएपछि संस्थामा अहिले पशु बीमा गर्ने र व्यवसायिक रुपमा पशुपालन गर्ने कृषकको संख्या बढ्न थालेको व्यवस्थापक हरिप्रसाद सिग्देलले बताउनुभयो । गाईको सुत्केरी खर्च रकम वापत संस्थाले ७ दिनमा नै पाँच सय रुपैयाँ रकम दिएको कृषक राधादेवी न्यौपानेले जानकारी दिनुभयो।
कृषक विष्नुदेवी गैरे भन्छिन्“हिजोआज त पशुपालन व्यवसाय सुरु गरे मात्र भो,बिमा गर्ने,रोग लागेमा उपचार गर्ने काम सबै सहकारीले गरीदिएको हुँदा व्यवसाय गर्न सजिलो भएको छ,अहिले त झन् सुत्केरी खर्च पनि पाइने रहेछ”। गाई ब्याएको १७ दिनमा सहकारीले दिएको सुत्केरी खर्च रकमले गाईलाई नै भिटामिन किनेर खुवाएको केशवराज भण्डारीले बताउनुभयो । गाउँकै छिमेकीहरुले पशुमा सुत्केरी खर्च रकम पाएको देखि मणिरत्न डोटेलले पनि संस्थामा पशु बिमा गरेको बताउनुभयो ।

हिजोआज पशुमा सुत्केरी खर्च रकम दिन थालेपछि संस्थामा पशु बिमा गर्ने किसानको प्रतिस्पर्धा बढेको पशु बिमा समिति रामपुरका संयोजक नगिलाल पौडेल बताउँछन् । यस सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पाल्पा जिल्लाका पूर्वी भेगका मित्याल, गल्धा, झिरुवास, सिलुवा, बाकामलाङ्ग, सहलकोट, रामपुर, हुँगी स्याङ्गजा, तनहुँ र नवलपरासी जिल्लाका विभिन्न स्थानका पशुपालक किसानलाई सेवा दिदै आएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

१० औं वार्षिक साधारण सभा सम्पन्‍न
एभरेष्ट कृषि सहकारीको अवलोकन
सहकारीकर्मीहरुसँग नेफ्स्कूनको अन्तरक्रिया
२२ औँ वार्षिक साधारण सभा सम्पन्‍न