समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त क्षेत्र बनाउनुपर्दछ


सिमरा, असार १ ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले समुदायमा आधारित र उत्पादनकेन्द्रीत सहकारीलाई करमुक्त क्षेत्र घोषणा गर्न सरकारसंग मांग गर्नुभयो । आज सिमरामा सहकारी सुशासन र समन्वयका लागि सहकारीकर्मीहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले उक्त मांग गर्नुभएको हो । सहकारीले समाजलाई एकीकृत र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन खेलेको भूमिका खेलेका छन । नयां नगरपालिका घोषणा गरेका स्थानहरुमा सहकारीको कर टडकारो समस्या परेको छ, अन्तरराष्ट्रिय अभ्यासलाई समेत मध्यनजर गर्दै केही वर्षका लागि सहकारीलाई करमुक्त क्षेत्र घोषणा गर्नुपर्दछ, पौडेलले भन्नुभयो । एक अर्को प्रसंगमा लामो संक्रमणकालवीच संविधान बन्ने सम्भावना प्रवल भएकोप्रति खुशी व्यक्त गर्दै सहकारीमैत्री संविधान बनाउन पौडेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका आन्तरिक राजस्व कार्यालयका प्रमुख खेमनारायण रेग्मीले सहकारीहरुले सुशासनका सिद्धान्तहरुलाई पालन गर्दै अनिवार्य स्थायी लेखा नम्वर प्राप्तिको प्रक्रियामा आउन आग्रह गर्नुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतमले सहकारीहरुवीच असल सम्वन्धका लागि अस्वस्थ प्रतिस्पर्धा र विकृतिहरु हल गर्न राज्य र अभियानको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । त्यसैगरी कार्यपत्र प्रस्तोता एवम् बरिष्ठ सहकारीकर्मी मुकुन्दबहादुर क्षेत्रीले सहकारी संस्थाभित्र सुशासनको अवस्था अत्यन्त कमजोर भएको बताउदै यसका लागि अनुगमन पक्ष प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, उपाध्यक्ष मिश्रीलाल सहनी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष अनिता लम्साललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण डिभिजन सहकारी कार्यालयकी सहायक सहकारी निरिक्षक प्रतिमा पाठक र स्वागत जनकल्याण साकोस सिमराका अध्यक्ष राजु सिटौलाले गर्नुभएको थियो ।

डिभिजन सहकारी कार्यालय कलैयाको आयोजना र जनकल्याण बचत तथा ऋण सहकारी संस्था सिमराको संयोजनमा सम्पन्न कार्यक्रममा साठी जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नुवाकोट सहकारी संघ मन्त्रालयमा दर्ता
प्रतिबिम्ब साकोसको आयोजनामा दोस्रो पाम वर्कशप सम्पन्‍न
वित्तीय साक्षरता तालिम सम्पन्‍न
हिमचुली साकोस गोरखाको रजत महोत्सव सम्पन्न