उद्योगसंगको ११ बुँदे सहमति पश्चात् आन्दोलन स्थगित


घोराही जेष्ठ ३२ । घोराही सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समितिले थालेको आन्दोलन उद्योगसंगको ११ बुँदे सहमति पश्चात् स्थगित भएको छ । केही दिन अगाडि बाट आन्दोलनमा उत्रिएको समितिले सहमतिसंगै आफ्ना आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाईमा घोराहीमा भएको वार्तापश्चात् दुबै पक्षबीच ११ बुँदे सहमति भएको छ ।
आन्दोलनको कार्यक्रम अन्तगर्त सोमबारबाट समितिले उद्योगमा तालाबन्दी गर्ने कार्यक्रम अनुसार केही समय तालाबन्दी समेत गरिएको थियो । सहमतिपश्चात् उद्योगमा लगाइएको ताला सोमवार नै केही समयपश्चात् खोलिएको थियो । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडे, वाणिज्य उपाध्यक्ष नारायणप्रसाद भुसाल, महासचिव दीपक सुवेदीको मध्यस्थता, नेपाल पत्रकार महासंघ दाङ शाखा सल्लाहकार सविन प्रियासनको साक्षीरोहबरमा भएको सहमतिमा उद्योगको तर्फबाट विकास शर्मा र अमर सुवेदीले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ भने आन्दोलनरत समितिको तर्फबाट भरतराज देवकोटा, तेजप्रसाद पोख्रेल, नमराज अधिकारी, मोहनलाल पुन, भिमबहादुर पुन, बसन्त घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।
दुबै पक्षबीच भएको सहमति अनुसार हाल सुनिदैं आएको ध्वनी प्रदुषण नेपाल सरकारको मापदण्ड अनुसार हुनुपर्ने र उक्त ध्वनी मापन यन्त्र एक महिना भित्र जडान गर्नुपर्नेछ । यसैगरी सिमेन्ट उद्योगको चिम्नी र अन्य उपकरणबाट निस्किरहेको धुलो सिमेन्ट उद्योग क्षेत्रभित्रै खस्ने व्यवस्था मिलाउनुपर्ने, स्थानीय विकासको सन्दर्भमा गाविस संग छलफल गरी वार्षिकरुपमा एकमुष्ट रकम गाविसमा उपलव्ध गराउनुपर्ने र सो रकम प्रभावित क्षेत्रको वातावरण संरक्षण तथा विकासमा खर्च गर्नुपर्ने यस सम्बन्धि योजना छनौंट गर्दा वातावरण संरक्षण तथा सरोकार समितिलाई उद्योगलाई सहभागि गराउनुपर्ने, सडकको धुलो नियन्त्रण गर्न सडक कालोपत्रेका लागि सरोकारवाला र सम्बन्धित निकायमा पहल गर्ने, र कालोपत्रे नहुन्जेल आवश्यकता अनुसार थप पानी ट्यांकरको व्यवस्था गरी सडकको धुलो पूर्णरुपमा नियनत्रण गर्नुपर्ने, लक्ष्मीपुर वडा नम्वर ७ र ८ का स्थानीयबासीहरुसंग भएका सम्झौता अनुसारको खानेपानी पाइप लायन विच्छ्याएको स्थानमा असार समान्तसम्म र पाइप विच्छ्याउन बाँकी रहेका ठाउँमा असोज मसान्तसम्म खानेपानी सूचारु गर्नुपर्ने र बाटो कालोपत्रे ३ वर्षभित्र पुरा गर्नुपर्ने सहमति भएको छ । त्यस्तै श्रमिकहरुको हकमा प्रचलित श्रम ऐन नियम अनुसार योग्यता, दक्षता र कामको प्रकृतिको आधारमा तलबमानको व्यवस्था निर्धारण गर्नुपर्ने, नियुक्तिको व्यवस्थाका साथै स्थानीयलाई रोजगारीमा पहिलो प्राथमिकता दिनुपर्ने, उद्योगको लगानीमा ३ वटा वातावरण प्रदुषण मापन यान्त्र समुदायले छनौंट गरेको स्थानमा एकमहिना भित्र जडान गर्नुपर्ने, विज्ञले दिएको सुझाक अनुसार उद्योगबाट प्रभावित जग्गाको हकमा सरकारी मापदण्ड अनुसार र अनुगमन समिति र जग्गाधनी बीच सहमति भाद्र मासन्त सम्ममा छलफल गरी सोही बमोजिम गर्नुपर्ने, सरोकार समितिले आव्हान गरेको आन्दोलनमा एक्यबद्धता जनाएका कारणले उद्योगले कुनै किसिमको भेदभाव तथा कारवाही गर्न नपाइने सहमति भएको छ । यसैगरी उद्योगबाट हुने प्रदुषण तथा स्थानीय स्तरमा उठ्ने अन्य समस्याको सम्बन्धमा मासिक नियमितरुपमा र छड्के अनुगमन गर्नका लागि अनुगमन समिति समेत गठन गरिएको छ । जसको संयोजकमा दाङ जिल्ला उद्योग वाणिज्य संघ रहेको छ भने सदस्यमा लक्ष्मीपुर गाविसको कार्यालय, सिमेन्ट उद्योग प्रभावित क्षेत्र वातावरण संरक्षण तथा सरोकार समितिबाट ३ जना, गाविसमा प्रतिनिधित्व गर्ने राजनीति दलहरु, उमावि डाँडागाउँ गोल्लीको प्रतिनिधि, स्वास्थ्य चौकी गोग्ली रहेका छन् । यसैगरी प्रभावित क्षेत्रका जनताको स्वास्थ्य परीक्षण मासिकरुपमा एमबिबिएस डाक्टरद्वारा नियमितरुपमा र त्रैमासिकरुपमा विशेषज्ञबाट स्वास्थ्य चौकीमा निशुःल्करुपमा स्वास्थ्य परीक्षण गर्ने र औषधीको व्यवस्था उद्योगले मिलाउनुपर्ने सहमति भएको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर