पुनर्निर्माण सम्मेलनबारे पूर्वअर्थमन्त्रीहरुसँग छलफल


mahat geeeeeeeeeeeeeeeकाठमाडौं, असार ३ । आगामी असार १० गते काठमाडौंमा आयोजना हुने सहायता सम्मेलन “नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन”लाई प्रभावकारी बनाउने सिलसिलामा सन्दर्भमा वुधबार अर्थमन्त्रालयमा पूर्वअर्थमन्त्रीहरु, योजना आयोगका पूर्व उपाध्यक्षहरु, पूर्व मुख्यसचिवहरु तथा पूर्वअर्थसचिवहरुसँग छलफल गरियो । छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री डा रामशरण महतले भूकम्पबाट भएको क्षतिको यथाशीघ्र पुनर्निर्माणका लागि आवश्यक स्रोत परिचालन गर्न अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको स्पष्ट पार्नुभयो । भूकम्पबाट ठूलो क्षति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, आन्तरिक स्रोतबाट मात्र यो संभव छैन । त्यसैले अन्तर्राष्ट्रिय सहयोग लिनु आवश्यक छ । सम्मेलनमा दाताहरुले गर्ने मोटामोटी सहयोगको घोषणा होस भन्ने चाहेको र आगामी आर्थिक बर्षको बजेटबाटै कामहरु अगाडि बढाइने जानकारी गराउनुभयो ।
सरकारले ऋणभन्दा अनुदान सहयोगलाई जोड दिएको उल्लेख गर्दै उहाँले बजारको ब्याजदरमा नभै सस्तो ब्याजदरको दीर्घकालिन कर्जा सहयोग पनि लिन लागिएको स्पष्ट पार्नुभयो । सो अवसरमा उहाँले भन्नुभयो, छोटो समयमा पुनर्निर्माका लागि आवश्यक पर्ने रकमको मूल्यांकन पीडीएनए तयार भैसकेको छ । यसलाई योजना आयोगको नेतृत्वको टीम, नेपाली विज्ञहरु र दातृ संस्थाका विज्ञहरुको समेत सहभागी गराएर बस्तुपरक र तथ्यपरक बनाइएको छ । यसले गर्दा दाताहरुसँग प्रस्तुत हुन पनि सजिलो हुनेछ ।
सम्मेलनमा सकेसम्म उच्चस्तरीय सहभागिताका लागि जोड दिएका छौं र धेरै मुलुक तथा संस्थाहरुले आश्वासन पनि दिएका छन । उहाँले भन्नुभयो, सम्मेलनलाई सफल बनाउन तयारी राम्रो भएको छ । तपाईहरुका थप सुझाव छन भने समेटिनेछ ।
अर्थमन्त्री डा महतले भूकम्पको स्थिति आफ्नै आँखाले देख्न सकुन भन्ने ध्येयले पनि काठमाडौंमा नै सम्मेलन गर्न लागिएको स्पष्ट पार्नुभयो ।
सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सर्तसहितको सहयोग स्वीकर्न नहुने र अनुदान सहयोगमा जोड दिनुपर्ने सुझाव दिनुभयो । त्यस्तै अर्का पूर्वअर्थमन्त्री बर्षमान पुनले पुनर्निर्माणका लागि प्रभावशाली निकाय बनाउनुपर्नेमा जोड दिनुभयो । अर्का पूर्वअर्थमन्त्री शंकर कोइरालाले स्रोतसँग कार्यान्वयन क्षमता बढाउनुपर्ने बताउनुभयो । योजना आयोगका पूर्व उपाध्यक्ष डा जगदीश पोखरेलले अर्थतन्त्रको समष्ठिगत क्षेत्रमा पर्ने असर अध्ययन गरी समावेश गरिनुपर्नेमा जोड दिनुभयो भने पूर्व उपाध्यक्ष डा युवराज खतिवडाले सहयोग लिदा अनुदानमा जोड दिनुपर्ने र बढी ऋणमा निर्भर हुँदा अर्थतन्त्रको समष्ठिगत क्षेत्रमा पर्ने प्रभावप्रति सचेत हुनुपर्ने बताउनुभयो । पूर्व मुख्य सचिव डा विमलप्रसाद कोइराला, डा भोजराज घिमिरे र महालेखा नियन्त्रक भानुप्रसाद आचार्यले पारदर्शिता, जवाफदेहिता भएमा सहयोग आउनसक्ने र त्यसको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न सक्ने उल्लेख गर्नुभएको थियो ।
योजना आयोगका सदस्य डा स्वार्णिम वाग्लेले पीडीएनएका बारेमा निश्कर्षहरु प्रस्तुत गर्दै यो पुनर्निर्माणका लागि भएको र नवनिर्माणका ठूला आयोगनाहरु यही पीडीएनमा टेकेर सुदृढीकरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । उहाँको भनाई थियो, यो पुनर्निर्माणका लागि आवश्यक पर्ने रकमको मल्यांकन आँकडा हो, हामी कति रकम चाहन्छौं भन्ने आँकडा होइन ।
कार्यक्रममा पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री, पूर्व उपाध्यक्ष डा रवीन्द्रकुमार शाक्य, सूचना आयोगका प्रमुख आयुक्त तथा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटा लगायतले आ आफ्नो धारण राख्नुभएको थियो । सो अवसरमा आयोगका उपाध्यक्ष प्रा डा गोविन्दप्रसाद पोखरेल, अर्थसचिव सुमनप्रसाद शर्मा, राजस्व सचिव नवराज भण्डारी तथा मन्त्रालयका उच्च अधिकारीहरुको सहभागिता थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?