सहकारीलाई एकीकृत प्रणालीमा लैजान जोड


 सिमरा, असार ३ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का अध्यक्ष ऋषिराज घिमिरेले मुलुकभरका बचत तथा ऋण सहकारीहरुलाई एकीकृत स्वरुपमा सञ्चालन गर्ने र एकीकरण प्रक्रियामा लैजाने बताउनुभयो ।

आज सिमरास्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिकोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष घिमिरेले उक्त कुरा बताउनुभएको हो । सहकारीहरुको संख्यात्मक वृद्धिसंगै जोखिम पनि बढिरहेको बताउदै साकोस युनिफिकेशन प्रणालीमार्फत एउटै रंग, लोगो, साइनबोर्ड, नीति तथा पद्धति बनाउने र व्याजदर पनि एकै किसिमको बनाउने तयारी नेफ्स्कूनले गरिरहेको घिमिरेले बताउनुभयो ।

वित्तिय सहकारीले मुलुकको अर्थतन्त्र चलायमान र गतिशिल बनाई रहेका छन । समुदायमा वित्तिय साक्षरता र पूंजी परिचालनमा यिनको महत्वपूर्ण योगदान छ । अव सहकारीहरु छरिएर धेरै होइन, एकिकृत भएर गुणस्तरीय सेवा दिनका लागि एकीकरणतर्फ अघि बढन घिमिरेले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले संविधान बन्ने सम्भावनाले आम नागरिक खुशी भएको बताउदै सहकारीमैत्री संविधान बनाएर आर्थिक समृद्धि र सामाजिक एकताका लागि सहकारीहरुको भूमिका स्थापित गर्न पौडेलले मांग गर्नुभयो ।

हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका पौडेलले भूकम्पपछिको राहत र उद्धारमा सहकारीहरुको भूमिका प्रभावकारी रहेको बताउदै नवनिर्माणमा सहकारी अभियानलाई सामेल गर्न र सहकारीमार्फत सहुलियत ऋण परिचालन गर्न आग्रह गर्नुभयो । सहकारीहरु जागरणबाट गुणात्मक विकासको चरणमा प्रवेश गरिसकेको बताउदै पौडेलले सदस्य सेवा र एकीकरण प्रक्रियालाई अघि बढाउन तयार हुनुपर्ने बताउनुभयो ।

 कार्यक्रममा संस्था स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान पुर्याउनुहुने तात्कालिन गाविस सचिव स्व. चन्द्रप्रसाद पन्त, तात्कालिन संस्था सहायक विष्णु घिमिरे, सहकारी संस्थामा योगदान पुर्याउने सञ्चालक रामप्रसाद सिलवाललगायतलाई सम्मान गरिएको छ ।

नेफ्स्कूनका अध्यक्ष ऋषिराज घिमिरे र सञ्चालक कृष्ण पौडेलले संयुक्त रुपमा सम्मान गर्नुभएको हो । त्यसैगरी जेष्ठ सदस्यको रुपमा ८९ वर्षीय मानबहादुर थापा र ७३ वर्षीय टिकामाया लम्साल, उत्कृष्ट कारोवारकर्ताको रुपमा सेसुमाया तामाङ, कृष्ण फुंयाल, प्रविना श्रेष्ठ, ओमशान्ति बचत समूहलाई सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट विद्यार्थीतर्फ सिमरा उच्च माविका छात्रा स्वस्तिका सुन्दास, सरस्वती निमावि दशबिघाहाका पवन भट्टराई, बजनी निमाविका रोशनी लामिछानेलाई पनि सम्मानित गरिएको छ ।

१३ वर्ष अघि स्थापना भएको जनकल्याणमा हाल ११०० सदस्यहरुवीच चार करोडको कारोवार भई रहेको छ । आजै नेफ्स्कून अध्यक्ष घिमिरेले सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था, सिमरा महिला र संगालो बचत तथा ऋण सहकारी संस्थाको स्थलगत निरिक्षण गर्नुभएको छ । उक्त निरिक्षणमा नेफ्स्कून सञ्चालक तथा हातेमालोका अध्यक्ष कृष्ण पौडेल, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेललगायतको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन
तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न