सामुदायिक वनमा व्यावसायिक जडीबुटी


रामपुर (पाल्पा), असार ७ । जिल्ला वन कार्यालय पाल्पाले दोभान गाविस– ८ पाटनस्थित केरेनी रानीवन सामुदायिक वनमा व्यावसायिक जडीबुटी प्रवद्र्धन योजना सुरु गरेको छ ।

समुन्द्र सतहदेखि १७ सय मिटर उचाइमा रहेको सामुदायिक वनको साँढे दुई हेक्टर क्षेत्रफलमा उपभोक्ताले वन कार्यालयको सहयोगमा चिराइको बीउ छरिसकेका छन् । वन क्षेत्रमा लौठ सल्ला, अम्रिसो, ओखर र उपभोक्ताको निजी जग्गामा तेजपत्ताको व्यावसायिक खेती गर्न वन कार्यालयले उपभोक्तालाई सहयोग गरिरहेको कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताउनुभयो ।

वन कार्यालयले दोभान गाविसलाई जडीबुटी पकेट क्षेत्रका रुपमा घोषणा गरेको छ । उपभोक्ताको जीविकोपार्जनमा पनि सहयोग पुग्ने भएकाले जडीबुटी विकास कार्यक्रमअन्तर्गत जडीबुटीको व्यावसायिक रुपमा खेती सुरु गरेको वन अधिकृत प्रकाश लम्सालले बताउनुभयो । प्राकृतिक रुपमै केरेनी रानीवन वनमा चिराइतो, टिमुर, पाखनवेदजस्ता जडीबुटी प्रशस्तमात्रामा पाइन्छन् । तर संरक्षण र व्यवस्थापनको अभावमा यस्ता जडीबुटीबाट उपभोक्ताले अहिलेसम्म फाइदा लिन सकेका छैनन् ।

अहिले सामुदायिक वनका ८० जना उपभोक्तालाई तालिम दिई जडीबुटीको दिगो संरक्षण र व्यवस्थापनबारे सिकाइएको छ । जडीबुटीविज्ञ तथा अमलावास सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष माधवप्रसाद काफ्लेले वन कार्यालयले चिराइतोको बीउ निःशुल्क उपलब्ध गराएको बताउनुभयो । एक पटक छरेपछि २८ महिनासम्म उत्पादन लिन सकिने, बिक्री गर्न बजारको समस्या नरहेका साथै जरादेखि डाँठ र पातसम्मका सबै भाग औषधिका रुपमा प्रयोग हुने भएकाले चिराइतोप्रतिको आकर्षण बढेको हो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर