सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्छ– मन्त्री निधि
काठमाडौँ, १९ असार । भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले सहकारी क्रियाकलापलाई लोकतन्त्रसँग जोड्नुपर्ने बताएका छन् । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘नेसनल कोअपरेटर्स एलाइन्स नेपाल’का नवनिर्वाचित कार्यसमितिको स्वागतका लागि आज आयोजना गरेको कार्यक्रममा मन्त्री निधिले सहकारी सिद्धान्तअनुसार हुने जनताको सहभागिताले मात्र लोकतन्त्रको दिगो विकास हुने बताए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सहकारी विभागका प्रमुख बालकृष्ण खाणले सहकारी आन्दोलनलाई मर्यादित र सशक्त रुपमा अघि बढाउन सके उत्पादन र रोजगारी वृद्धि हुने बताएका छन् ।
कांग्रेस सभासद् ओमदेवी मल्लले सहकारीमा आबद्ध सबै तहका सदस्यले आआफ्नो जिम्मेवारी बोध गरी सहकारीको उद्देश्य हासिल गर्न लाग्नुपर्नेमा जोड दिएकी थिइन् । कार्यक्रममा काँग्रेस भक्तपुरका सभापति गणेशमान चक्रधर, प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम दाहाल, एलाइन्सका अध्यक्ष डिल्लीराम तिवारी, सहअध्यक्ष सुरेन्द्रराज भण्डारी, महासचिव चन्द्रप्रसाद ढकाललगायतले सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन एलाइन्सको भूमिका महत्वपूर्ण हुनुपर्नेमा जोड दिएका थिए ।