सहकारी ऐन संशोधनले सहकारको पुरै सम्बोधन गर्न नसक्ने


कलैया,  असार २० नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का सञ्चालक कृष्ण पौडेलले व्यवस्थापिका संसदले हालै गरेको सहकारी ऐनको हालै भएको संशोधनले सहकारी क्षेत्रको आवश्यकतालाई प्रभावकारी रुपमा सम्वोधन गर्न नसकेको बताउनुभयो ।

सहकारी सुशासन र अनुशासनका लागि दण्ड र कारवाही जरुरी छ । आज कलैयामा डिभिजन सहकारी कार्यालयको सभाकक्षमा सम्पन्न सहकारी संघसंस्थाहरुको वार्षिक समिक्षा गोष्ठिमा बोल्दै उक्त कुरा बताउनुभएको हो । व्यवस्थापिका संसदले हालै गरेको संशोधनले राम्रा काम गर्ने सहकारीहरुको प्रोत्साहन र पुरस्कार प्रणालीलाई सम्वोधन गर्न सकेको छैन । पौडेलले अहिलेको सहकारी क्षेत्रको विस्तार र सम्भावनाहरुलाई सदुपयोग गर्ने गरी ऐनको परिमार्जन गर्न पौडेलले मांग गर्नुभयो ।

सहकारीलाई एकीकृत स्वरुपमा सञ्चालन र नियमन अनुगमनलाई प्रभावकारी बनाउन नसकिएसम्म सहकारी क्षेत्रको समस्या समाधान हुन सक्दैन । प्रस्तावित संविधानले सहकारी क्षेत्रलाई दिएको प्राथमिकतालाई ऐनको संशोधनले समेटन सकेको छैन । प्रस्तावित संविधानले सार्वजनिक, सहकारी र निजी क्षेत्रको सहभागिता र स्वतन्त्र र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने भनिएको छ । तर ऐनको संशोधन संविधान र समयसापेक्ष छैन ।

पौडेलले समुदायमा आधारित र सदस्यकेन्द्रीत सहकारीहरुलाई करमुक्त बनाउन मांग गर्दै सहकारी क्षेत्रले सिर्जना गरेको पूंजी, संगठन र सम्भावनालाई मुलुकको आर्थिक विकासमा प्रयोग गर्ने वातावरण बनाउन मांग गर्नुभयो ।

कार्यक्रममा बोल्दै साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारीले सहकारी सिद्धान्त र मूल्यमान्यता अनुसार सञ्चालन गर्न नसक्दा र सञ्चालन सम्भाव्यताको अध्ययन नगरी दर्ता गरेको कारण सहकारीहरुको निष्क्रियता र समस्याहरु बढेको बताउनुभयो । अधिकारीले सहकारी सुशासन र अनुशासन कायम गर्नका लागि सहकारीहरुवीच एकीकरण र अस्वस्थ प्रतिस्पर्धाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेलले सहकारी संस्थाहरु सेवाकेन्द्रीत भएर अघि बढन र अधिक मुनाफा भन्दा संस्थाहरुको दिगो विकासमा प्रतिवद्ध हुन आग्रह गर्नुभयो । जिल्लाभरका साढे सात सय सहकारीहरु स्थापना भएपनि कतिपय सहकारीहरुको निष्क्रियाताले समस्याहरु सिर्जना भएको बताउदै आगामी दिनमा तिनलाई क्रियाशिल बनाउन समुदाय र सरोकारवालाहरुलाई पोखरेलले आग्रह गर्नुभयो ।

कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिव सत्तेन्द्र ठाकुर, व्यवस्थापक अस्मिता ढकाल, नेपाल पत्रकार महासंघ बाराका सदस्य पुष्पराज खतिवडालगायत, सञ्चारकर्मी कृष्ण सिग्द्याललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जिल्लाका ३० सहकारी संघसंस्थाका ६० जनाको सहभागिता रहेको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?