दश लाखको बीउ क्षति
ललितपुर, २२ असार । भूकम्पका कारण एउटै कृषकको मात्रै रु दशलाख मूल्य बराबरको बीउ नष्ट भएको छ ।
ललितपुर कार्यबिनायक नगरपालिका– १५ का व्यावयायिक कृषक कृष्णबहादुर घिमिरेको करिब रु दश लाख बराबरको तरकारीको बीउमा क्षति पुगेको हो । काउली, मुला, बकुल्ला, तोरी, घिरौला र गहुँ गरी छ प्रकारका बीउ भण्डाराण गरिएको स्थानमा घरले पुरिएर क्षति भएको घिमिरेले बताउनुभयो । उहाँले बीस वर्षदेखि कृषि पेसा सुरु गरी २०६२ सालदेखि आफैले उत्पादन गरेको बीउ भण्डारण गरी बिक्री वितरण गर्दै आउनुभएको थियो । घिमिरे यस वर्ष उत्कृष्ट राष्ट्रपति कृषक पुरस्कारबाट समेत पुरस्कृत बन्नुभएको छ ।
बीउबीजन बिक्री वितरण बाट नै उहाँले वार्षिक रु २५ लाखको कारोबार गर्दै आउनुभएको थियो । भूकम्पका कारण यसवर्ष तरकारीको बीउ क्षति हुँदा व्यवसायमा ठूलो नोक्सान पुगेको छ । यसरी नोक्सान हुँदा धेरै कृषक बीउको अभावमा समेत प्रभावित भएका छन् ।
नेपाल कृषक व्यवसायी सङ्घका सचिव रवीन्द्र विष्टका अनुसार काठमाडाँै उपत्यकामा भूकम्प र त्यसपछि आएका हावाहुरीका कारण करिब दुईसय कृषकलाई समस्या परेको छ ।