प्रविधिको अवलम्बन गर्दैै सहकारी


पोखरा, असार २८। सहकारीहरुले आफूलाई व्यवस्थित र सक्षम बनाउन प्रविधि अबलम्बन गर्न थालेका छन् । कास्कीका सहकारीहरू पछिल्लो समयमा क्रमश प्रविधिमैत्री बन्दै गएका हुन् ।

कास्कीमा स्थापना भएका सहकारीमध्ये ८० प्रतिशतभन्दा बढीले सफ्टवेयरको माध्यमबाट कारोबार गरिरहेका छन् । कागजी प्रयोग गर्ने सहकारीको संख्या देशभरमै कमै मात्र छन् । प्रविधिको प्रयोगले सहकारीको विश्वसनीयता बढाउनुका साथै कारोबारलाई पनि व्यवस्थित बनाउन सहयोग पु¥याएको सहकारीका सञ्चालकहरु बताउँछन् ।
‘क्लोजिङ ओरिण्टेशन’ कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय सहकारी प्रविधिमैत्री हुने क्रम बढीरहेकोमा खुसी व्यक्त गरे । कास्की बचत तथा ऋण सहकारी सङ्घको आयोजना तथा सफ्टवेयर प्रदायक कम्पनी फिन एक्टको सहआयोजनामा सञ्चालित कार्यक्रममा बोल्ने वक्ताहरूले सहकारीले प्रविधिको भरपुर प्रयोग गरी लेखा पद्धति र अभिलेखीकरणलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।
आर्थिक वर्ष सकिनै लाग्दा वार्षिक हिसाव कसरी मिलाउने र क्लोजिङ कसरी गर्ने भन्ने विषयमा कार्यक्रममा अन्तरक्रिया कार्यक्रम भएको थियो । सीए अर्जुनकुमार गोशलीले क्लोजिङअगाडि ध्यान दिनुपर्ने बताउनुभयो।
जिल्ला सहकारी सङ्घ कास्कीका अध्यक्ष रविरमण तिवारीले कास्कीको सहकारी अभियानमा प्रविधिको प्रयोगले धेरै टेवा पु¥याएको बताउनुभयो । कास्की बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष भीम गुरुङले कास्कीमा २०२६ सालमा सहकारी स्थापना भए पनि धेरैपछि आएरमात्र प्रविधिको प्रयोग शुरू भएको जानकारी दिनुभयो । पछिल्लो समय कास्कीका ग्रामीण क्षेत्रका केही साना सहकारीबाहेक सबैले प्रविधिको प्रयोग शुरू गरिसकेको उहाँको भनाई छ ।
अन्तरराष्ट्रिय सहकारी दिवसका अवसरमा सङ्घले वर्षेनी छलफल तथा अन्तरक्रिया आयोजना गर्ने गरेको गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा कास्कीसहित तनहुँ, लमजुङ, बागलुङ, स्याङ्जालगायत जिल्लाबाट सहकारीकर्मी उपस्थित थियो । फिन एक्टका पोखरा शाखा प्रमुख सन्तोष गौतमले कास्कीका प्रायः सहकारीले आफ्नो कम्पनीको सफ्टवेयर प्रयोग गरेको बताउनुभयो । कास्कीमा करीब १ लाख ५० हजार जना सहकारी संस्थामा आबद्ध छन् । जिल्लामा स्थापित सहकारीमार्फत १ हजार ४ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् ।
जिल्लामा सहकारीमार्फत वार्षिक १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने