राष्ट्र बैंकको निर्देशनप्रति सहकारीको कडा आपत्ति


सहकारी अगुवाद्धारा नीजि क्षेत्रको पनि आलोचना

 

काठमाडौं  सहकारी क्षेत्रका अगुवाहरु र सहकारी आन्दोलनकर्मीहरुले राष्ट्र बैंकले कुनै पनि बैंकमा सहकारीको लगानी हुन नहुने र शेयर खरीद गर्न नपाउनेगरी गरेको निर्णयप्रति आपत्ति जनाएका छन् । मिडिया इन्टरनेसनलले  काठमाडौंमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले राष्ट्र बैंकको निर्णय सहकारीले मान्न बाध्य नहुने समेत बताए । कार्यक्रममा राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सभासद केशव वडालले सहकारीलाई कहिँ कतैबाट अंकुश लगाउने र यो गर वा यो नगर भन्ने अधिकार कसैलाई नभएको बताए । उनले सहकारी आफ्नै नीति र सिद्धान्तबाट परिचालीत हुने भन्दै सहकारीले कहाँ लगानी गर्न पाउने वा कहाँ नपाउने भन्ने कुरा राष्ट्र बैंकले भन्न नमिल्ने उल्लेख गरे । सहकारीको घाँटी निमोठ्ने काम देशको अर्थतन्त्र विगार्ने काम भएको टिप्पणी गदैं उनले राष्ट्र बैंकको कदमप्रति कडा आपत्ति प्रकट गरे । संविधानका मस्यौदामा नीजि क्षेत्रले सहकारीको विरोध गरेकोप्रत पनि उनले कडा आलोचना गरे । तिनखम्बे अर्थनीति अन्तरगत सहकारीलाई नीजि क्षेत्र मान्नु पर्ने उद्योग वाणिज्य महासंघ लगायतको प्रस्ताव अस्वीकार गर्दै उनले बैंकहरुले सहकारीको बदनाम गरेर सहकारीको व्यबसाय आफूले गर्न चाहेको समेत आरोप लगाए । अर्थतन्त्रमा सहकारी, सरकार र नीजि क्षेत्र सबैको उत्तिकै महत्व भएको उल्लेख गर्दै उनले संविधानमै सहकारीको आवश्यकता र महत्वका बारे उल्लेख गर्नुपर्नेमा जोड दिए । ग्रामिण अर्थतन्त्रमा सहकारीको भूमिका रहेको भन्दै उनले बजारका सहकारीबीच मर्जरको जरुरी रहेको र हरेक गाविसमा कम्तिमा एउटा सहकारी आबश्यक रहेको पनि बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईंले राष्ट्र बैंकले जारी गरेको नीतिले सहकारीलाई संकुचन गर्न खोजिएको भन्दै सो प्रति आपत्ति जनाए । उनले पनि सहकारीले गर्ने लगानीका बारे राष्ट्र बैंकले केही भन्न नमिल्ले बताए । धेरै पुँजी भएका सहकारीहरुले हाइड्रोमा समेत लगानी गरेको बताउँदै उनले सहकारीको क्षेत्राधिकार तोक्न नहुनेमा जोड दिए । त्यसैगरी बरिष्ठ सहकारी संचालक उत्तम प्रसाद बाँस्कोटाले सहकारीको विकास र विस्तारबाट देशकै अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको भन्दै सहकारीका नकारात्मक पक्षलाई मात्रै उठाइनु गलत भएको बताए । कार्यक्रममा तरकारी तथा फलफूल केन्द्रीय सहकारी संघका अध्यक्ष विनोद पराजुली र संमृद्धिको लागि आर्थिक क्रान्ति अभियानका नेत्र पाण्डे लगायतले सहकारी ग्रामिण अर्थतन्त्रको मेरुदण्ड भएको बताएका थिए । कार्यक्रम मिडिया इन्टरनेसनलका अध्यक्ष माधव निर्दोषको अध्यक्षतामा सम्पन्न भएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नमुना महिला विकास साकोस एक्सेस् कार्यक्रममा आवद्ध
सामुदायिक साकोसको ११ औं सेवा केन्द्र
सञ्‍चालक र कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम
प्रबल जनसेवा श्री पदकबाट राष्ट्रिय सहकारी महासंघका सहकारीकर्मीहरु विभूषित