‘सहकारीमा अपराध बढ्यो’


काठमाडौं, २० साउन । सहकारीमा ऐन, कानुन फितलो भएका कारण अपराध बढेको सरोकारवालाहरुले बताएका छन् ।
नेपाल सहकारी पत्रकार समाजले आयोजना गरेको ‘सहकारी क्षेत्रको बित्तीय कारोबार कसरी सुरक्षित गर्ने’ भन्ने विषयक सहकारी सम्बाद कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारी ऐन २०४८ ले सहकारीको ठूलो कारोबार र अपराधबारे उल्लेख नगरेका कारण सहकारीका ठगी मौलाएको बताएका हुन् ।
कार्यक्रममा बोल्दै सहकारी विभागका उप–रजिष्ट्रार विष्णु घिमिरेले सहकारी ऐन २०४८ संशोधन हुन नसक्नु राज्यको ठूलो कमजोरी भएको बताए । सहकारी अभियान बाधक भएका कारण पनि सहकारी ऐन संशोधन गर्न एवम् सहकारी नियमावली २०४९ संशोधन गर्न नसकिएको बताए ।
सहकारीकर्मीले सहकारी क्षेत्रमा गर्दै आएको राज खोसिने डरले सहकारीकर्मीले कानुन ल्याउन रोकेको उप–रजिष्ट्रार घिमिरेले बताए ।
‘ऐन बनाउदाँ आफैलाई डाम्छ भन्ने मानसिकताले केही सहकारीकर्मीले ऐन, तथा नियमावली ल्याउन रोक्ने गरेका छन्, यो अभियानलाई नै घातक छ’ उनले भने ।
सरकारले २०६८ सालमा सहकारी मापदण्ड लागु गरेपनि मन्त्रीपरिषद्बाट निर्णय गराउन नसकेकाले मापदण्ड अक्षरश पालना गराउन समस्या परेको उहाँको भनाई थियो । ‘मन्त्रीपरिषद्बाट निर्णय गराएर मापदण्डको ठाउँमा निर्देशिका बनाएको भए प्रभावकारी हुने थियो, त्यसतर्फ ध्यान पुगेन’ उनले भने ।
सहकारी स्वनियमनमा चल्ने संस्था भएपनि सहकारीमा अनुशासन हराउँदै जान थालेकाले सहकारीमा समस्या बढेको उप–रजिष्ट्रार घिमिरेले बताए । ‘सहकारी स्वनियमनमा चुके, स्वनियममा ध्यान नदिने सहकारीलाई कडा नियमन गर्न आवश्यक छ’ उनले भने । सहकारी अनुगमन गर्न कानुन नभएकाले अनुगमन प्रभावकारी नभएको उनको भनाई छ ।
राष्ट्रिय सहकारी संघका उपाध्यक्ष मीनराज कँडेलले पल्र्स मनिटरिङ मोडेलमा सहकारी सञ्चालन गर्न सके कुनै पनि सहकारी धराशायी नहुने बताए । पल्र्स, पोलिसी र प्यानिङमा सही विश्लेषण गरी सहकारीले कारोबार गर्नुपर्नेमा उनले जोड दिएका थिए ।
सहकारीको जोखिम न्यूनीकरण गर्न युनिफिकेशन माध्यममा जानुपर्ने उपाध्यक्ष घिमिरेले बताए । अब बन्ने संविधानमा सहकारी मैत्री संबिधान बनाउनुपर्नेमा उनको जोड थियो ।
राष्ट्रिय सहकारी बैंकका प्रबन्ध सञ्चालक केबी उप्रेतीले सहकारी संख्यात्मक रुपमा बढेपनि गुणात्मकमा चुकेको बताए । ‘हामी बित्तीय क्षेत्रमा जोखिम न्यूनिकरण गर्न सचेत भई कारोबार गर्दै आएका छौं’ उनले भने ।
सहकारीमा देखिएका समस्या समाधानका लागि सहकारी बोर्ड, विभाग र अभियान सम्मिलित छुट्टै संयन्त्र आवश्यक भएको उनको भनाई थियो ।
नेपाल बचत तथा ऋण सहकारी केन्द्रिय संघ (नेफ्स्कुन)का उपाध्यक्ष नानीबाबु बुढाथोकीले सहकारीमार्फत आर्थिक रुपान्तरण गर्न सकिने भएकाले सहकारीलाई सबल खम्बाका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । नीति र सिद्वान्तमा चलेका सहकारी नडुबेको उनको भनाई थियो ।
जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाईले सहकारीका नाममा उठाइएको पैसा नीजी कम्पनीमा लगाउने गरेकाले सहकारीमा समस्या बढेको बताए ।
निजी क्षेत्रले सहकारी माथि नउठोस् भन्ने चाहेकाले सहकारीले प्रगति गर्न नसकेको उनको भनाई थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन