नेफस्कूनको एकीकृत साकोस प्रणाली एवम् लेखामान लागु गर्ने तयारी


काठमाडौं, साउन ३० । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आफना सदस्य संघसंस्थाहरुमा एकीकृत साकोस प्रणाली र लेखामान लागु गर्ने भएको छ ।

आज नेफ्स्कूनले अर्थ मन्त्रालय, कानून मन्त्रालय, सहकारी तथा गरीवी निवारण मन्त्रालय, सहकारी विभाग, नेपाल राष्ट्र बैंक, नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्था (आइक्यान), नेपाल अडिटर्स एशोसिएशन (अडान) र नेफ्स्कून प्रतिनिधिहरुवीच आयोजित अन्तरक्रिया कार्यक्रममा एकीकृत प्रणाली र लेखामानको तयारी भइरहेको बताइएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै नेफ्स्कूनका कार्यकारी अधिकृत शिवजी सापकोटाले सहकारी सुशासन, अनुशासन र व्यवस्थापनका लागि नीतिगत केन्द्रीयता र सञ्चालन स्वायत्तताको अवधारणामा नीति, विधि, प्रविधि र शैलीमा मुलुकभर एउटै स्वरुपमा सञ्चालन गर्ने तयारी भई रहेको बताउनुभयो । चांडै नै लेखामान, साइनबोर्ड, रंग र लेटरप्याड आदिबाट एकीकृत साकोस प्रणाली लागु गर्ने सापकोटाले बताउनुभयो ।
सहकारीहरुको लेखा कोड र फम्र्याट प्रस्तुत गर्दै आइक्यानका एफसिए सुमन डंगोलले वित्तिय सहकारीहरुलाई नियमन गर्नका लागि लेखा पद्धतिलाई प्रभावकारी बनाउन जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी संघका अध्यक्ष एवम् संविधानसभा सदस्य केशव बडालले तत्काल सहकारी ऐन ल्याएर सहकारीका अवसर र चुनौतिको व्यवस्थापन गर्न जरुरी रहेको बताउनुभयो ।
सहकारी तथा गरीवी निवारण मन्त्रालयका निमित्त सचिव सुरेश प्रधानले नेफ्स्कूनले जारी गर्न खोजेको लेखा ढांचा र सूचि सहकारी क्षेत्रको सुदृढीकरणको आधार बन्ने र त्यसका लागि मन्त्रालयले सहयोग गर्ने बताउनुभयो ।
सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले सहकारी क्षेत्रका समस्याहरु समाधानका लागि अभियान गम्भिर र जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
अर्थ मन्त्रालयका उपसचिव कुलप्रसाद चुंडालले सहकारीले नेपाली अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको बताउदै सहकारी असफल हुदा मुलुकको अर्थतन्त्रसमेत असफल हुने बताउनुभयो । कानून मन्त्रालयका उपसचिव इन्दिरा दाहालले प्रस्तावित सहकारी ऐनमा विशेष परिच्छेद थपेर वा छुटै ऐन व्यवस्था गरेर भएपनि वित्तिय सहकारीको नियमन प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।
नेपाल राष्ट्र बैंकका निर्देशक डा. बिनोद आत्रेयले सहकारी क्षेत्रले ठुलो मात्रामा वित्तिय परिचालन गरिरहेकोले यसको सुशासन र नियमन आफुहरुको पनि चासोको विषय रहेको बताउनुभयो ।
नेपाल चार्टर्ड एकाउण्टेण्टस संस्था (आइक्यान) का अध्यक्ष प्रकाश लम्सालले विशेषतः सहकारी क्षेत्रमा जोखिमहरु बढदै गएको र त्यसमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा लेखापरीक्षकहरु पनि जोडिनु दुखदायी भएको बताउदै काम र गुणस्तरीयताको लागि शुल्क वृद्धि गर्नुपर्ने बाध्यता परेको बताउनुभयो ।
नेपाल अडिटर्स एशोसिएशन (अडान) का सचिव ध्रुव पौडेलले सहकारी क्षेत्रको लेखापरीक्षण चुनौतिपूर्ण रहेको बताउदै लेखापरीक्षकहरुले जोखिममा काम गरिरहनुपरेको बताउनुभयो ।
नेफ्स्कून अध्यक्ष ऋषिराज घिमिरेले वित्तिय सहकारीहरुवीच एकरुपता कायम गर्न एकीकृत साकोस प्रणाली लागु गर्न खोजेको र यसका लागि सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक