पत्रकार घिमिरे ‘सिजेएन पत्रकारिता पुरस्कार २०७२’ बाट सम्मानित


नेपाल सहकारी पत्रकार समाजको स्थापना दिवस

काठमाडौं, । नेपाल सहकारी पत्रकार समाज(सिजेएन)ले आफ्नो पाचौं स्थापना दिवस मनाएको छ । दिवस सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सो अबसरमा सिजेएनले रिपब्लिका राष्ट्रिय दैनिकका पत्रकार सागर घिमिरेलाई सिजेएन पत्रकारिता पुरस्कार २०७२ बाट सम्मान गरेको छ । घिमिरेलाई नगद पाँच हजार सहित कदरपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै सचिव शंकरप्रसाद अधिकारीले सहकारीको गुणात्मक विकासका लागि मर्जरमा अनिवार्य जानुपर्ने बताउनुभयो । सहकारीको गुणात्मक विकास र सुधारका लागि मेकानिजम र फोर्स नीति अबलम्बन गर्न लागिएको बताउनुभयो । ‘सहकारी एकीकरण नीति ड्राफ्ट गर्दछौं’ उहाँले भन्नुभयो । नीति बनेपछि सहकारी मर्जमा जान सजिलो हुने उहाँको भनाई थियो ।
हालसम्म ३३ हजार सहकारी दर्ता भएपनि मर्ज नीति प्रभावकारी नहँुदा समस्या भएको उहाको भनाई थियो । सहकारीको विकासका लागि अब बन्ने सहकारी ऐनमा दण्ड र कैदमा जोड दिइएको सचिव अधिकारीले बताउनुभयो । सहकारी ऐन २०४८ मा दण्डात्मक व्यवस्था नभएकाले केही सहकारीमा विकृति बढेको उहाँको भनाई थियो ।
समस्याग्रस्त सहकारीको व्यवस्थापन र समस्या समाधान गर्ने संयन्त्र बनाउन लागिएको सचिव अधिकारीले जानकारी दिनुभयो। कुल ग्राहस्थ उत्पादनमा सहकारीको योगदानबारे अध्ययन हुन नसकेको भन्दै सचिव अधिकारीले आउँदो आर्थिक वर्षदेखि अध्ययन गरिने बताउनुभयो । तीन खम्बे नीतिमार्फत नै अर्थतन्त्र सबल हुने भएकाले सहकारी सक्षम बन्न आवश्यक भएको उहाँको भनाई थियो ।
सहकारी नीति २०६९ कार्यान्वयनमा ल्याउनका लागि एक्सन प्लान बनाउने काम अन्तिम चरणमा पुगेको सचिव अधिकारीले बताउनुभयो । २५ जिल्लामा गरिबी परिवारबारे अध्ययन भएको र आउँदो वर्ष थप ५० जिल्लामा गरिब परिवारे अध्ययन गरिने सचिव अधिकारीले बताउनुभयो । गरिबी निवारणसम्बन्धी सबै काम मन्त्रालयमार्फत गर्न सके प्रभावकारी ढंगले सञ्चालन गर्न सकिने उहाँको भनाई थियो । सहकारीको सूचना व्यवस्थापनका लागि सफ्टवेयर निर्माण भइसकेको उहाँको भनाई थियो ।

राष्ट्रिय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मीनराज कडेलले कर्जा सूचना केन्द्र निर्माणका लागि सरोकारवाला निकायको छुट्टै संयन्त्र बनाउनुपर्ने बताउनुभयो । ‘कर्जा सूचना केन्द्रको काम निजी कम्पनीलाई दिने चलखेल भइरहेको छ, यदी त्यसो भए हामीलाई स्वीकार्य हुने छैन्’उहाँले भन्नुभयो–‘यदी त्यसो भएमा अभियानको साथ, सहयोग र समर्थन सरकारलाई रहने छैन् ।’
सहकारी विभागका रजिष्ट्रार काशिनाथ मरासिनीले सहकारी सुरक्षित, मर्यादित बनाउन आवश्यक भएको बताउनुभयो । ‘सहकारीको साख गिर्न दिनुहुन्न, सहकारीको सिद्वान्त राम्रो भएपनि केही सहकारी सहकारी सिद्वान्त विपरित चलेका छन्’ उहाँले भन्नुभयो ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ(नेफ्स्कुन)का अध्यक्ष ऋषिराज घिमिरेले सहकारीको गुणत्मक विकासका लागि सहकारी एकीकरणमा दवावमुलक कार्यक्रम नै सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
नेपाल आर्थिक पत्रकार समाज(सेजन)का अध्यक्ष गोकर्ण अवस्थीले सहकारीका विकृति, विसंगती अन्त्य गर्न कलम चलाउन आवश्यक भएको बताउनुभयो । सहकारी गाउँ केन्द्रित हुन सकेमात्र अर्थतन्त्रमा सहकारी सबल खम्बा बन्न सक्ने उहाँको भनाई थियो ।
नेपाल सहकारी पत्रकार समाजका संस्थापक अध्यक्ष यादव हुमागाईले सहकारी अभियान पारदर्शी र सञ्चारमैत्री हुन नसक्दासम्म अर्थतन्त्रको सबल खम्बा बन्न नसकेको बताउनुभयो ।
कार्यक्रममा सिजेएनका उपाध्यक्ष राजेश खनालले स्वागत मन्तव्य दिनुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव खिला दाहालले गर्नुभएको थियो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर