निजि व्यवसायमा भन्दा सहकारी मै रमाउँछु


– मनोज भण्डारी
कोषाध्यक्ष, जिल्ला सहकारी संघ लि. काठमाडौँ ।

. सहकारी क्षेत्रमा यहाँको सुरुवात कसरी भयो ?

वि.स. २०५५ सालमा एउटा सहकारी संस्थाको कर्मचारीको रुपमा सहकारीमा प्रवेश गरेको हुँ । त्यहाँबाट मैले सहकारी सम्बन्धि केहि मूल्य मान्यता सिद्धान्तको विषयमा जानकारी लिने मौका पाए । त्यो समुदाय स्तरमा केन्द्रीत सहकारी भएकोले अझ  मलाई त्यसबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भयो ।त्यसपछि सँगै काम गरेका केहि साथीहरुसँग मिलेर हामीले पनि यो समुदायमा केहि काम गर्न सक्छौँ, योगदान पुर्‍याउन सक्छौँ भन्ने लागेर केहि योजना बनायौँ । र त्यहि अनुसारले हामीले २०५७ सालमा निश्चित कार्यक्षेत्रलाई आधार बनाएर सहकारी संस्था मार्फत सहस्यलाई सेवा दिने उदेश्यले यसको स्थापना गर्‍यौँ । त्यहि समयदेखि निरन्तर यो क्षेत्रमा म कार्यरत छु ।

. साथीहरुसँग मिलेर स्थापना गरेको सहकारी संस्थाको नेतृत्व पहिलो पटक तपाईँ आफैँ लिनु भयो कि अरुले ?

एक जना साथी हुनुहुन्थ्योँ उहाँको नेतृत्वबाट हामीले सुरुवात गर्‍यौँ। सुरुवात गर्दै जाँदा केहि कमीकमजोरीहरु हुन्थ्यो। त्यो समयमा सहकारीबाट भाग्ने अवस्था थियो । बदनामीको अवस्था थियो, यो ५७ र ५८ सालको बिचमा । त्यस्तो अवस्थामा हामीले सहकारी संस्थालाई संस्थागत गर्न धेरै मेहनेत गर्नु पर्‍यो । जनमानसदेखि सदस्यसम्मलाई आकर्षित गर्नका लागि धेरै परिस्थितिबाट गुज्रनु पर्‍यो । त्यसको बाबजुद त्यस समयमा अरु कसैले त्यसको नेतृत्व लिनु भएको थियो । आफ्नो नेतृत्वलाई क्षमतावान बनाउन नसकेकोले हामीले दुई वर्षपछि चुनाव गर्‍यौँ  र त्यस पछि मैले यो सहकारीको नेतृत्व गरेँ । अहिलेसम्म मैले नै यो सहकारी संस्थाको नेतृत्व लिईरहेको छु ।

. सुरुमा नेतृत्व लिदाँ कस्ता किसीमका परिस्थितिको यहाँले सामना गर्नु पर्‍यो, अथवा त्यो परिश्थितिको सृजना भयो कि भएन ?

समस्या त धेरै आईपरे । एक त त्यतिखेर अहिलेको भन्दा मानिसको सहकारी प्रतिको दृष्टिकोण नकारात्मक हुन्थ्यो । किनभने त्यसबेला केहि ठूला ठूला सहकारी संस्थाले ढुकुटीको रुपमा पैसा जम्मा गर्ने र सदस्यहरुको पैसा फिर्ता नगरेको अवस्था पनि थियो । त्यस्तो अवस्थामा हामीले हाम्रा सदस्यहरु बिचमा हामी असल काम गर्छौँ भनेर चिनाउन धेरै संघर्ष गर्नु पर्‍यो । हामी आफ्नो लक्ष्यमा पुग्नका लागि दृढविश्वासका साथ खुट्टा नकमाएर अगाडि बढिरहृयौँ । कतिलाई बुझाउन सक्यौँ । कतिलाई सकेनौँ पनि । तर अहिलेको समयमा केहि मात्रामा मानिसहरुले सहकारी भनेको के हो भनेर बुझेको अवस्था छ ।

. तपाईंले आफ्नो उद्यम व्यवसाय पनि गरिरहनु भएको छ र सहकारी क्षेत्रमा पनि निरन्तर लागि रहनु भएको छ । यो दुईबिचको फरक कस्तो पाउनु भएको छ ? यि दुई मध्ये कुनमा रमाउनु हुन्छ ?

सहकारीमा काम गर्दा गर्दै विभिन्न किसीमका व्यवसाय र व्यवसायमा लागेका व्यक्तिहरुसँग परिचित हुने भएकोले व्यवसायिक रुपमा गतिविधिहरुलाई अगाडि बढाउदै गईयो । काम गर्ने शिलशिलामा जति सहकारीमा रमाईलो छ त्यो नीजि कम्पनीमा हुँदैन । सहकारीमा एउटा छुट्टै किसिमको आनन्द हुन्छ । सदस्यहरुसँग नजिक हुने, उनीहरुको इच्छा चाहना अनुसार काम गर्ने र धेरै किसिमका साझा समस्याहरुलाई संवोधन गर्नु पर्ने भएकोले अन्य क्षेत्र भन्दा सहकारी क्षेत्र बढि रमाईलो लाग्छ ।

. तपाईंले सहकारी जिल्ला संघ काठमाडौंको कोषाध्यक्ष पद पनि समालिरहनु भएको छ । अन्य क्षेत्रमा पनि तपाईंको क्रियाशिलता उत्त्तिकै छ । समयको व्यवस्थापन कसरी गर्नुहुन्छ  ?

सायद सुरुसरुको समय भएकोले होला केहि क्षेत्रमा मैले बढि समय दिनु पर्ने भएकोले मलाई समयको व्यवस्थापन गर्न अलि कठिन नै छ । भर्खरै सम्पन्न भएको जिल्ला संघको कोषाध्यक्षबाट पाँच वर्षे कार्ययोजना पनि बनाएका छौँ । त्यसमा पनि एउटा महत्वपूर्ण भूमिका मैले बहन गरेको छु । तर समय मिलायो भने मिल्दो रहेछ भन्ने अनुभव अहिलेको अवस्थाबाट महशुस गरेको छु । पछिको दिनमा पनि खासै गाह्रो नपर्ला भन्ने लाग्छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक