सहकारीद्वारा खेलकुदमन्त्री अभिनन्दित


बारा, असोज १० । सहकारीमैत्री संविधान ल्याउन सहयोग पुर्याएकोमा युवा तथा खेलकुद मन्त्री एवम् स्थानीय सभासद पुरुषोत्तम पौडेललाई बारा जिल्लाका सहकारीकर्मीहरुले अभिनन्दन गरेको छ । आज समाजसुधार कृषि सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभाको क्रममा सहकारी अभियानको तर्फबाट नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का सञ्चालक एवम् जिल्ला सहकारी समन्वय सञ्जालका संयोजक कृष्ण पौडेलले मन्त्री पौडेललाई अभिनन्दन गरेका हुन ।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले संविधानले सबै नेपाली जनताको भावना समेटेको र यसको पूर्ण कार्यान्वयनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । असन्तुष्ट पक्षले वार्तामा आएर आफना मांगहरु प्रष्ट राखेर समाधान खोजेर मुलुकलाई एकीकृत र समृद्ध बनाउन लाग्नुपर्ने पौडेलले बताउनुभयो । पौडेलले नेपालको संविधान सहकारीमैत्री भएको बताउदै सहकारीहरु आम नागरिकलाई उद्यमी बनाएर सामाजिक रुपमा एकतावद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ््स्कून) का सञ्चालक कृष्ण पौडेलले संविधानले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने उदघोष गरेकोले सोही भावना अनुरुप अघि बढनका लागि ऐन, कानून र अभ्यासहरु लागु गर्न सरकारसंग मांग गर्नुभयो ।

संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साना किसान कृषि सहकारी संघका अध्यक्ष शिव अधिकारी, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, डुमरवाना बहुमुखी क्याम्पसका प्रमुख किशोर शर्मा, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका सञ्चालक राजु अधिकारी, हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष राजकुमार अर्याल, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक दीपक घिमिरेलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण व्यवस्थापक रविन्द्र भण्डारीले गर्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट किसानहरु मानबहादुर भण्डारी र बरुण गौतम, उत्कृष्ट कारोवारकर्ताहरु प्रल्हाद साह सोनार, निश्चल थापा, सोममाया घलान, मीनाकुमारी चौधरी, जेष्ठ सदस्य रामकुमारी पुडासैनी, उत्कृष्ट कर्मचारी पवित्रा कंडेल, छात्रवृत्ति पुरस्कार रोशनी खातुन र सहयोगी संस्था बिजनेस नेपाल कन्सल्टेन्सीलाई प्रमुख अतिथि नेफ्स्कून सञ्चालक कृष्ण पौडेल र संस्थाका अध्यक्ष नारायणदत्त अधिकारीले सम्मान गर्नुभएको थियो ।

उदघाटन समारोहपछि आयोजित बन्दसत्रले संस्थाको प्रगति प्रतिवेदन र लेखा समितिको प्रतिवेदनहरु सुझावहरुसहित पुनः नारायणदत्त अधिकारीको अध्यक्षतामा एघार सदस्यीय सञ्चालक समिति चयन गरेको छ । समितिमा उपाध्यक्ष केशव काफले, सचिव सीमा ठकुरी, कोषाध्यक्ष रामचन्द्र लामिछाने र सञ्चलकहरु नवराज ढकाल, कुमार श्रेष्ठ, पार्वती अधिकारी, शहिद मियां, शोभा बिश्वकर्मा, ठाकुर ढुंगाना, दीपक कार्की चयन हुनु भएको छ । लेखा समितिमा संयोजक रामकुमार अर्याल र सदस्यहरु कृष्ण प्रसाद दाहाल र देवकी ढुंगाना निर्वाचित हुनुभएको निर्वाचन प्रमुख किशोर शर्माले बताउनुभयो ।

आजै सिमरास्थित सिमरा महिला बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभाको उदघाटन गर्दै नेफ्स्कूनका सञ्चालक कृष्ण पौडेलले सहकारीका सबै सदस्यहरु संविधानले दिएको राष्ट्रिय समृद्धिको कार्यभार पुरा गर्न क्रियाशिल हुनुपर्ने बताउनुभयो । संस्थाकी अध्यक्ष अनिता लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ, डिभिजन सहकारी कार्यालयका प्रमुख कुलोत्तम पोखरेललगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण सचिव निर्मला सुवेदी पौडेल र स्वागत सञ्चालक गीता शर्मा पौडेलले गर्नुभएको थियो । संस्थाले एक हजार सदस्यहरुवीच करीव दुई करोडको कारोवार गरिरहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक