हातेमालोको साधारणसभा सम्पन्न


सिमरा, असोज १७ । हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा आज १०० वर्षीया जेष्ठ सदस्य खगिश्वरा उपाध्याय, थारु साहित्यकार हृदयनारायण चौधरी, मधेशी समुदायका गरीव सदस्य शत्रुघन हलुवाई, मधेशी दलित नौ वर्षीया बालिका सवनमकुमार कुचीकार र संस्थाका अध्यक्ष कृष्ण पौडेलले संयुक्त रुपमा उदघाटन गरेका छन । कार्यक्रममा ठुला र केन्द्रका व्यक्ति बोलाएर साधारणसभा उदघाटन गर्ने प्रचलनमा परिवर्तन गर्दै राष्ट्रिय एकता, जातिय एवम् सामाजिक सदभावको सन्देश दिनका लागि यसरी उदघाटन गरिएको हो ।

वार्षिक साधारणसभामा यस वर्षको हातेमालो सहकारी पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी पवन यादवलाई प्रदान गरिएको छ । जिल्लाको सहकारी तथा सामाजिक क्षेत्रमा पत्रकारितामार्फत योगदान गरेकोमा सम्मानस्वरुप नगद रु. १०,०००सहित संस्थाका अध्यक्ष कृष्ण पौडेलले सम्मान गर्नुभएको हो । सहकारी क्षेत्रमा लामो समय योगदान पुर्याएका मुकन्दबहादुर क्षेत्री, थारु साहित्यको क्षेत्रमा योगदान गरेवापत हृदयनारायण चौधरी र शिक्षा क्षेत्रमा पूर्वशिक्षक ध्रुव पोखरेललाई हातेमालो सहकारी वर्ष सम्मान गरेको छ । जेष्ठ सदस्यको रुपमा एक सय वर्षीया खगिश्वरा उपाध्याय र ७४ वर्षीय मणिरत्न पाध्यालाई सम्मानित गरिएको छ । त्यस्तै उत्कृष्ट सदस्यहरुको रुपमा मंगले सार्की, लक्ष्मी पाण्डे, अजयकुमार विश्वकर्मा, यदुकुमार गौतम, वुद्धिमाया थापा, पुष्पबहादुर लामा, ज्ञानेन्द्रकुमारी पाण्डे, शत्रुघन हलुवाई र मकशुद आलम अन्सारीलाई संस्थाले सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट अभिभावक तथा विद्यार्थीहरुमा सिमरा कलेजका अभिभावक हरिप्रसाद धिताल र विद्यार्थी अन्दिप धिताल, अभिभावक राजेन्द्र सुवेदी र विद्यार्थी सिर्जना सुवेदी, डुमरवाना बहुमुखी क्याम्पसका अभिभावक धर्मदत्त शर्मा र विद्यार्थी कृष्ण पौडेल, अभिभावक जितेन्द्र महतो र विद्यार्थी गंगा महतो, गौरीशंकर क्याम्पसका अभिभावक कृष्णप्रसाद तिमल्सेना र विद्यार्थी गोविन्द तिमल्सेना, अभिभावक वुद्धिप्रसाद अर्याल र विद्यार्थी सविता अर्याललाई सम्मानित गरिएको छ ।

वार्षिक साधारणसभामा बोल्दै संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका सञ्चालक कृष्ण पौडेलले सहकारीहरु विभिन्न आस्था, बिचार, जात र समुदायका साझा धरोहरको रुपमा रहेको बताउनुभयो । पौडेलले समुदायमा आधारित र सदस्यकेन्द्रीत सहकारीहरुको योगदानलाई कदर गर्दै करमुक्त क्षेत्र बनाउन र सहकारीको पूंजीलाई राष्ट्रिय समृद्धिसंग जोडन ध्यान दिनुपर्ने बताउनुभयो ।

वार्षिक साधारणसभामा थारु साहित्यकार हृदयनारायण चौधरी, बारा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोला गौतम, डिभिजन सहकारी कार्यालय बाराका प्रमुख कुलोत्तम पोखरेल, बारा उद्योग बाणिज्य संघका उपाध्यक्ष कपिलदेव यादव, सिमरा उद्योग बाणिज्य संघका अध्यक्ष रेशम तिवारी, साना किसान कृषि सहकारी संस्था डुमरवानाका अध्यक्ष कृष्ण न्यौपाने, दलित महिला सदस्य लक्ष्मी नेपालीलगायतले बोल्नुभएको थियो ।

उदघाटन सत्रपछि आयोजित बन्दसत्रले अध्यक्ष पौडेलको प्रगति प्रतिवेदन, लेखा समिति संयोजक डम्मरमणि थेवे लिम्वु, कोषाध्यक्ष शिव वाग्लेको वित्तिय प्रतिवेदन र सञ्चालक सदस्य इद्रिस मियांको विनियम संशोधन प्रतिवेदन सुझावसहित पारीत गरेको छ ।

२०६५ सालमा स्थापना भएको हातेमालो सहकारीले दुई हजार सदस्यहरुवीच सत्र करोडको कारोवार गरिरहेको छ । संस्थाले यस वर्ष एक हजार सदस्यहरु वृद्धि गर्ने र कारोवारको एक्काइस करोडको कारोवार पुर्याउने लक्ष्य लिएको छ । मध्यतराईको उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थाको पहिचान बनाएको हातेमालोले यस वर्ष राष्ट्रिय मापदण्ड प्रोवेशन प्राप्त गर्ने र शिक्षा तथा स्वास्थ्य क्षेत्रमा समेत अघि बढने कार्यक्रम रहेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?