ग्यास र डिजेल कालोबजारी गर्ने पक्राउ
ललितपुर, १७ कात्तिक । ग्यास र डिजेल कालोबजारी गर्ने पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले डिजेल कालोबजारी गर्नेलाई आज बिहान पक्राउ गरेको छ । ग्यासको कालोबजारी गर्ने झापाका एक व्यापारी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुरका कृष्णमणि ढुङ्गाना, तनहुँका रामहरि मिश्र, धादिङका दीपक पौडेल र शिप पाण्डे रहेका छन् ।
पक्राउ परेका ढुङ्गाना सानेपास्थित त्रिशक्ति पेट्रोल पम्पका लेखापाल रहेका छन् । यसैगरी मिश्र सोही पम्पमा काम गर्ने रहेको परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक किसनसिंह थापाले बताउनुभयो ।
पम्पका कर्मचारीसँगको मिलेमतोमा बा१२च ३६४८ नंको बलेरो सवारीका चालक पौडेल र सहचालक पाण्डेले रातको समयमा गाडीको पछाडि ३५८ लिटर डिजेल प्लास्टिक क्रेटले ड्रमलाई घेरी भरिसकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । गाडीका चालक र सहचालक दुवै धादिङका भएको बताइएको छ ।
डिजेल कालोबजारी गरेका ती चार व्यक्तिलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरमा पेस गरिएको प्रहरी प्रवक्ता थापाले बताउनुभयो
भद्रपुर, १७ कातिक । झापाको काँकडभिट्टास्थित त्रिशक्ति ग्यासको कालो बजारी गरेको आशङ्कामा स्थानीयवासी पुण्य उप्रेतीलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले आज बिहान पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
स्थानीयवासीलाई रु छ हजारमा सिलिन्डर बिक्री गरिरहेको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्तसँग प्रहरीले ९७ थान ग्यास सिलिन्डर बरामद गरी सोधपुछ सुरु गरेको प्रहरी नायब उपरीक्षक श्याम अधिकारीले जानकारी दिनुभयो ।