अर्थतन्त्र धराशायी
काठमाडौं । उद्योगधन्दा थप्प हुदाँ नेपालको अर्थतन्त्र धराशायी भएको छ । भारतको नाकाबन्दी र तराई मधेस आन्दोलनले अर्थतन्त्र डामाडोल स्थितीमा पुगेको छ ।
उद्योग धन्दा बन्द हुनुका साथै राजस्व असुली, निजी क्षेत्रले गुमाएको पैसा र लगानीमा निकै ठूलो नकारात्मक असर परेको छ । रोजगारी गुम्न सक्ने अवस्था सिर्जना भएको छ । केही उद्योगहरुले नाकाबन्दी र भुकम्पका कारण कर्मचारी कटौटीसमेत गर्न थालेका छन् ।
भन्सार विन्दुमा संकलन हुने राजस्व करिव २५ अर्ब भन्दा बढी रुपैयाँ गुमेको छ । साउनदेखि कात्तिकसम्म ६० अर्ब रुपैयाँ राजस्व संकलन हुनुपर्ने थियो तर कात्तिक १८ गतेसम्म जम्मा ३५ अर्ब रुपैयाँ मात्र उठेको तथ्यांकले देखाएको छ ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले ‘कुल लक्ष्यको ६९ प्रतिशत मात्रै भन्सार उठेको जानकारी दिए । यही बेला सबैभन्दा धेरै राजस्व संकलन हुनुपथ्र्यो तर लक्ष्यभन्दा धेरै कम भयो’ उनले भने । अहिलेको संकटले वार्षिक लक्ष्यलाईई प्रत्यक्ष असर पु¥याउन सक्ने उनले जानकारी दिए ।
साउनदेखि कात्तिकसम्म बार्षिक लक्ष्यको करिब ३० प्रतिशत राजस्व संकलन हुनुपर्छ । तर, यस वर्ष यही समयमा निकै ठूलो धक्का लाग्यो । दसैं, तिहार र छठ जस्ता नेपालीका महत्वपूर्ण चाडपर्व समेत सकिने भएकोले आयात केन्द्रित राजस्वमा पछि पुर्ति हुने अवस्था देखिएको छैन्।
गत वैशाखमा गएको भूकम्पले पनि राजस्व असुलीमा ठूलो नोक्सानी पुर्याएको थियो । गत वर्ष पनि लक्ष्यभन्दा ३० अर्ब रुपैयाँ कम राजस्व संकलन भएको थियो ।
निजीक्षेत्रले दैनिक करिब दुई अर्ब रुपैयाँ नोक्सान भोगिरहेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघका अध्यक्ष पशुपति मुरारलको निजी क्षेत्रले धान्नै नसक्ने गरि नोक्सान व्यहोरिसकेको जानकारी दिदैँ थप लगानी गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।