सहकारीको परिकल्पना कांग्रेसको हो, कम्युनिष्टको होइन


सूचना चौतारी सञ्चार सहकारी संस्था लि.को प्रस्तुति ‘सहकारी मेच’मा नियमित रूपमा सहकारी क्षेत्रका विभिन्न निकायमा रहेका व्यक्तित्वहरूलाई राख्दै भलाकुसारी गर्दै आएका छौं । यसपालि सहकारी मेचमा आमन्त्रित हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता तथा नेपाली काङ्ग्रेस सहकारी विभागका प्रमुख बालकृष्ण खाँड ।
बालकृष्ण खाँडको जन्म वि.सं.२०१७ सालमा स्याङ्जामा भएको हो । बुबा नोइन्द्रबहादुर र आमा टोपकुमारी खाँडका छोरा बालकृष्णका तीन छोरी र एक छोरा छन् । खाँडले राजनीतिशास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गर्नुभएको छ ।
२०३३ सालदेखि राजनीतिमा प्रवेश गर्नुभएका खाँड २०६४ सालमा भएको संविधानसभा निर्वाचन र २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निवार्चित हुनुभएको थियो । खाँड गणतान्त्रिक नेपालका पहिलो संयुक्त सरकारमा जलस्रोत मन्त्री, २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्रीसमेत भइसक्नुभएको छ । नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएका खाँडले २०३७ सालमा राजकाज मुद्दाअन्तर्गत ३ वर्ष जेल जीवन बिताउनुभएको थियो । प्रस्तुत छ ‘सहकारी मेच’मा नेता खाँडसँगको भलाकुसारीको सम्पादित अंश :

नेपाली काङ्ग्रेसको सहकारी विभागको प्रमुख भएर सहकारीका लागि केके गर्नुभयो ?
नेपाली काङ्ग्रेसमा १२ औं महाधिवेशनपछि कृषि तथा सहकारी विभागको स्थापना भएको हो । तर यो विभागले अझैं पनि पूर्णता पाएको छैन । सहकारी विभागको ढाँचागत विकास हुन बाँकी नै छ । तथापि नेपाली काङ्ग्रेस कृषि तथा सहकारी विभागको प्रमुखका रूपमा म मात्र छु । सहकारीका विभिन्न कार्यक्रमहरूमा मलाई बोलाउनुहुन्छ, मसँग छलफल परामर्श पनि गर्नुहुन्छ । काङ्ग्रेसले सहकारी विभागको प्रारम्भ त गर्यो तर यसले जुन रूपमा सङ्गठित भएर काम गर्नुपर्ने थियो त्यो गर्न सकिएको छैन । अब यो विभागको स्वरूप बनिसकेको छ तर अन्य कुरा काङ्ग्रेसको आसन्न १३ औं महाधिवेशन सम्पन्न भइसकेपछि आउने नेतृत्वले विभिन्न विभागहरूलाई जस्तै सहकारी विभागलाई पनि गतिशीलता दिनेछ । अहिले यो विभागलाई जुन प्रकारले गतिशीलता दिनुपर्ने हो त्यो हुन सकेको छैन । देशभरका किसान, सहकारीकर्मीहरूलाई जसरी समेट्नुपर्ने हो त्यो पनि गर्न सकिएको छैन । तथापि अनुभवका आधारमा आउने दिनमा किसान, सहकारीकर्मीहरूसँग जोड्न सकियोस् भन्ने छ । काङ्ग्रेसका कृषि र सहकारीसम्बन्धी नीतिहरूलाई किसान र सहकारी अभियन्ताहरूमाझ पुर्याउने र राज्यलाई पनि त्यसमा जोड्ने भूमिका निर्वाह गर्न सक्छ भन्नेमा हामी आशावादी छौं ।

कम्युनिष्टहरूले पार्टीभित्रको जिम्मेवार पदमा बसेर सहकारीमा हेर्दा सहकारीकर्मीलाई आफ्ना कार्यकर्ता हुन् भन्ने मात्रै देख्छन् रे, तपाईंले सहकारीमा हेर्दा के देख्नुभयो ? के रैछ नेपालको सहकारी ?
अहिले सहकारी अभियान, सहकारीको गतिविधिले या सहकारी संस्थाहरू र सहकारी नितिले नेपालको सामाजिक र आर्थिक प्रणालीमा धेरै ठूलो गम्भीर प्रभाव पारेको छ । किसान, श्रमिक, महिलावर्ग, दिदीबहिनीहरू, गृहणीहरूलाई सशक्त बनाउन, सङ्गठित गर्ने, समाज, राष्ट्र र परिवारका प्रति पनि रचनात्मक क्रियाकलापमा सहभागी हुनुका साथै आपूmभित्रको क्षमता र विश्वासलाई मुखरित गर्न यो सहकारीले ठूलो भूमिका खेलेको छ । खास गरेर नेपालमा सहकारी विचारको बीजारोपण काङ्ग्रेसले गरेको हो । सहकारीले देशका सबै नागरिकहरूलाई धेरथोर पुँजीको मालिक बनाउँछ । आफुसंग भएको र सामूहिक ढङ्गले जम्मा गरेको पुँजीलाई, निष्कृय पुँजीलाई गतिशील र सक्रिय बनाउँछ जसले गर्दा उत्पादनशीलता पनि बढेर जान्छ । वास्तवमा वैचारिक हिसाबले भन्ने हो भने प्रजातान्त्रिक समाजवादी विचारसँग सहकारी विचार मिल्छ । संसारभरिका कम्युनिस्ट विचारले सम्पत्ति नै शोषणको मूल जरो हो भन्छ । कम्युनिस्ट साम्यवादी दर्शनले समाजबाट शोषणको अन्त्य गर्नका लागि सबै नागरिकहरूलाई बराबरी गर्नका लागि सम्पत्ति नै बाधक हो भन्छ । सम्पत्तिको स्रोतको आधारशिला राज्य हो, सम्पत्तिको केन्द्रबिन्दु पनि राज्य हो, यावत् सम्पत्तिका स्रोत माथि राज्यकै हक हुन्छ र सबै तहका नागरिक राज्यको कर्मचारी रहन्छन्, उनीहरूको श्रम, सीप, क्षमता राज्यका निम्ति पूर्ण समर्पण गर्नुपर्दछ भन्ने कुरा कम्युनिस्ट फिलोसफीमा पाइन्थ्यो पहिला । तर अहिले नेपालका सबै कम्युनिस्टहरूले त्यो कुरा भन्न लाज मान्नुहुन्छ । समाजवादोन्मुख राज्य बनाउने हो, समाजवाद धेरै टाढा भएकाले समाजवादको दिशामा अघि बढ्ने हो, साम्यवाद त झनै टाढा छ भनेर साम्यवादको यात्रा देखाउनुहुन्छ । तर हाम्रो भनेको सम्पत्तिमाथि हरेक नागरिकको पहुँच होस् भन्ने हो । एउटा सामान्य किसानसँग एक सय रुपियाँ छ उसले सहकारीमा जम्मा गर्छ । सात दिनपछि अर्को सय कमाउँछ फेरि सहकारीमा जम्मा गर्छ । एउटा गृहणीले कुखुरा पाल्छिन् कुखुरा बेचेर सहकारीमा पैसा जम्मा गर्छिन्, त्यही सहकारीसँग ऋण लिन्छिन् र बाख्रा पाल्छिन् । बाख्राबाट केही नाफा गरेर बेच्छिन् त्यसपछि गाई किन्छिन् । पैसा मान्छेको सिर्जनशीलताका लागि, जीवनवृत्तिका लागि महत्त्वपूर्ण आधारशिला हो, तर सम्पत्ति आफ्नै हुन्छ । पैसालाई एक्लैएक्लै प्रयोग गर्दा त्यसको परिधि साँघुरो होला तर सामूहिक रूपमा अघि बढ्ने हो भने ठूलाठूला कारखाना खोल्न सकिएला, कृषिलाई पनि आधुनिकीकरण गर्न सकिएला, त्यहाँ हजारौँले काम पाउँँछन्, नयाँ विज्ञान प्रविधिको विकास हुन्छ । सहकारीले हरेक नागरिकलाई सम्पत्तिमाथिको स्वामित्व दिलाउँछ । सहकारीको सबैभन्दा ठूलो पक्ष भनेकै नागरिकलाई सम्पत्तिको मालिकत्व गराउनु हो ।
तर बिडम्बना नागरिकसँग सम्पत्ति नै राख्नु हुन्न भन्ने विचार राख्नेहरू नेपालको सहकारीमा हाबी भए, सहकारीको माध्यमबाट नेपाली दाजुभाइ, दिदीबहिनीलाई सम्पत्तिको मालिक बनाउने हो भन्ने नेपाली काङ्ग्रेस सहकारी अभियानमा पछि छ ।

यो कसको कमजोरी हो त ?
यो सहकारी अभियानमा लाग्ने साथीहरूको कमजोरी होइन । नेपाली काङ्ग्रेसकै कमजारी हो, सबै काङ्ग्रेस नेतृत्वको दोष हो । अब यो दोष हटाएर आगामी दिनमा सहकारी अभियान र प्रजातान्त्रिक समाजवाद, सहकारी अभियान र नेपाली काङ्ग्रेस, सहकारी अभियान र किसान, सहकारी अभियान र श्रमिक, सहकारी अभियान र महिलाको सशक्तीकरणलाई जोडेर अघि बढ्नुपर्छ भन्ने हाम्रो धारणा छ ।

सहकारीमा पनि काङ्ग्रेस इतिहास बनाउने तर वर्तमान शून्यमै भयो हैन ?
कम्युनिस्टहरूले दलगत रूपमा पार्टीले नै आफ्ना कार्यकर्ताहरूलाई सहकारी अभियानमा पठाउनु भयो । राष्ट्रिय सहकारी सङ्घ हामीले स्थापना गरेको, सहकारी ऐन पनि काङ्ग्रेसको पालामा बनेको हो, राष्ट्रिय सहकारी विकास बोर्ड पनि काङ्ग्रेसको पालामा स्थापना भएको हो । तर हाम्रा साथी जो सहकारी अभियानमा लाग्नुभयो सङ्घमा, बोर्डमा गएपछि उहाँहरूले पार्टी बिर्सिनुभयो । नेपाली काङ्ग्रेस र सहकारी अभियानलाई जोड्ने क्रममा हामीले सफलता पाउन सकेनौं । काङ्ग्रेसको नेतृत्वमा बसेको मान्छे सहकारीमा जानेबित्तिकै सहकारीबाहेक अन्य कुरा बिर्सिनुभयो । तर वामपन्थी विचारधाराका मान्छेहरू जो सहकारीमा जानुभयो उहाँहरूले आफ्नो पार्टी र सहकारीलाई जोडिरहनुभयो । सहकारीसम्बन्धी उहाँको नीतिगत कुरा मिल्दैनथ्यो, सिद्धान्ततः नमिल्ने हो तैपनि आफ्नो पार्टीलाई मजबुत बनाउने क्रममा सहकारीलाई कहाँनिर उपयोग गर्ने भन्नेमा जोडदार ढङ्गले लाग्नुभयो ।
खास गरी नेपाल कम्युनिस्ट पार्टी एमालेले सहकारीलाई सहकारी विकासमा अभिप्रेरित गर्ने ठाउँमा एमालेको सङ्गठन विस्तार प्रयोजनमा प्रयोग ग¥यो । तर हामीले त्यो जोड्न चाहेनौं । जोड्न नचाहने काङ्ग्रेस साथीहरूको महानता थियो या कमजोरी थियो या हाम्रो विश्लेषण गलत थियो भन्ने कुनै समयमा छलफल गरौंला । एमालेका साथीहरूलाई सहकारी सिद्धान्तप्रति विश्वास थिएन तथापि सहकारीमार्फत लाखौं मान्छेलाई जोड्न पार्टीको रणनीतिगत रूपले उहाँहरूले सहकारीको प्रयोग गर्नुभयो । त्यसकारण उहाँहरू अगाडि जस्तो देखिनुभएको हो । तर मूलतः देशभरका सहकारीकर्मीहरूलाई ‘कम्युनिस्ट फिलोसफी’ र सहकारी त मिल्दै मिल्दो रहेनछ भन्ने कुराको महसुस भइसकेपछि दशैंको पिङको डोरी चुटे जस्तै झ्याप्पै भुइँमा हुन्छ । या त सहकारीको फिलोसोफी बदल्न पर्यो या ‘कम्युनिस्ट फिलोसोफी’ बदल्नुपर्यो, होइन भने यो सम्भव छैन ।

balkrishna 2

विगत केही वर्षदेखि प्रजातान्त्रिक विचार समूहको नेसनल को–अपरेटर्स एलाइन्स काङ्ग्रेस निकट रहेर सक्रिय हुदैं आएको छ एलाइन्सको गतिविधिलाई कसरी लिनुभएको छ ?
प्रजातन्त्रमा विश्वास गर्ने साथीहरू एलाइन्समा हुनुहुन्छ । वि.सं. २००७ सालमा नेपाली काङ्ग्रेसले राष्ट्रियता र प्रजातन्त्रको मुद्दा उठाएको थियो, २०१२ सालमा नेपाली काङ्ग्रेसले आफूलाई समाजवादी पार्टीका रूपमा रूपान्तरण गर्यो । सहकारी भन्नेबित्तिकै प्रजातान्त्रिक समाजवाद र सहकारी एउटै सिक्काका दुईवटा पाटा हुन् भन्ने बुझ्नुपर्छ । लामो समयदेखि सहकारी विभिन्न निकायमा नेपाली काङ्ग्रेस र साथीहरू लागेकै थियौं तर त्यो सङ्गठित रूपमा थिएन । सहकारीलाई देशभर सङ्गठित रूपमा अघि बढाउनलाई नेसनल को–अपरेटर्स एलाइन्स खोल्नुभएको छ । यसको केही महिनाअघि प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । यसले सहकारी र नेपाली नागरिकको कस्तो सम्बन्ध छ र नागरिकको जीवनलाई सहज बनाउन के गर्नुपर्छ भन्ने कुरा देशभर बुझाउन सक्नुपर्छ । नेपाली काङ्ग्रेसलाई किसान, मजदुर, आम महिला, गृहणीसँग जोड्ने क्रममा एलाइन्सले भूमिका निर्वाह गर्दछ भन्ने हाम्रो विश्वास छ । अन्य सङ्घहरूलाई जस्तै काङ्ग्रेसले एलाइन्सलाई अघि बढाउन देशभरि नै मदत पुर्याउछ ।

एलाइन्सको प्रथम राष्ट्रिय महाधिवेशनमा निर्विरोध निर्वाचित भएर नयाँ नेतृत्व त आयो तर पार्टीको सहकारी विभाग नेतृत्व चयनमा बढी हाबी भयो भन्छन् नि, हो ?
एलाइन्सको प्रथम राष्ट्रिय महाधिवेशन गर्न एलाइन्सकै साथीहरूले मिति तोक्नुभएको थियो । एलाइन्सकै साथीहरूले पर्यवेक्षकका रूपमा निम्तो दिनुभएको थियो म सहकारी विभाग प्रमुख भएको हुनाले सहभागी हुन पाएँ, म प्रमुख अतिथि भएर उद्घाटन र समापन गरेको हुँ तर सहकारीको आन्तरिक नीति तर्जुमा गर्दा म सहभागी भइनँ र नेतृत्व चयनमा पनि म सहभागी थिइनँ । हाम्रो सद्भाव र साथ थियो । घोषित मितिमा राष्ट्रिय महाधिवेशन गर्न एलाइन्सका देशभरका साथीहरूलाई एक ब्याङ्केटमा बोलाइयोे तर पछि फेरि के कारणले हो अन्यत्रै भेन्यु फिक्स गरियो । भेन्यु सारेर देशभरका साथीहरू महाधिवेशनमा सहभागी हुन सक्दैनन् भन्ने हिसाबले पनि केही कुरा उठेको हुन सक्छ तर त्यो आयोजकले नै गरेको हो । विधिवत् रूपमा महाधिवेशन सम्पन्न गर्ने हाम्रो दृढता थियो तर नेतृत्व चयन गर्न देशभरबाट आएका प्रतिनिधिको जिम्मेवारी थियो । त्यसमा पार्टीले पनि कुनै हस्तक्षेप गरेको थिएन, मैले पनि कुनै हस्तक्षेप गरिनँ ।

नेसनल को–अपरेटर्स एलाइन्स नेपाली काङ्ग्रेसको कुन हैसियतमा रहन्छ त अब ?
त्यसमा एलाइन्सको कार्यसमितिले छलफल गर्नुपर्छ । हामी नेपाली काङ्गेस प्रजातान्त्रिक समाजवादमा विश्वास राख्छौं, एलाइन्समा बसेका साथीहरू पनि प्रजातान्त्रिक समाजवादमा विश्वास गर्नुहुन्छ भने नेपाली काङ्ग्रेस र उहाँहरूको दृष्टिकोण लगभग मिल्यो । यदि उहाँहरूले भ्रातृ सङ्गठनका रूपमा आफूलाई चाहनुहुन्छ भने पनि काङ्ग्रेसले त्यसमा उदारतापूर्वक छलफल गर्छ, शुभेच्छुक संस्थाका रूपमा रहन चाहनुहुन्छ भने पनि हामी सम्मान गर्छौं । त्यो पनि होइन विचारमा हामी एउटै छौं कामको पृष्ठभूमि फरक छ, तपाईंहरूको काम राजनीति गर्ने हो हामीले व्यावसायिक क्षेत्रमा काम गर्छौै यो अभियानमा काङ्ग्रेसले सहयोग र साथ मात्र दिनुहोस् भन्नुभयो भने पनि हाम्रो साथ र सहयोग रहन्छ ।
मूल रूपमा हामीले मुलुकको समृद्धि चाहेको हो र हरेक नेपालीलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी प्रदान गर्न खोजेको हो । त्यसका लागि सहकारीकर्मीको ठूलो योगदान रहन्छ ।

१३ औं महाधिवेशनअघि सहकारी विभाग प्रमुखको हैसियतले केही गर्दै हुनुहुन्छ कि ?
मैले सहकारीकर्मीसँग अन्तर्संवाद गर्ने हो । नयाँ सरकार बनेको छ, सहकारी ऐन संसद्मा पुगेको छ । सहकारीलाई जीवन्त राख्न सक्ने ऐन बन्न सकोस्, त्यसका लागि हामी सामूहिक रूपमा प्रयत्न पनि गर्छौं । सहकारीका विभिन्न निकायहरूका साथीहरूसँग संवाद भइरहेको छ । को–अपरेटर्स एलाइन्सलाई गतिशील बनाउन हाम्रो सहयोग रहनेछ ।

राष्ट्रिय सहकारी बैङ्कमा पनि कम्युनिस्टहरूकै बोलवाला भयो भन्ने गुनासो काङ्ग्रेस पक्षको छ, एउटै मात्र बैङ्क हुने भन्ने सहकारी ऐन छ । यसमा के भन्नुहुन्छ ?
हाम्रै साथीहरूले सहकारी बैङ्क खोल्नुभयो, त्यति बेला सहकारीहरू धेरै कम थिए । सहकारीको कार्यक्षेत्र पनि थोरै थियो त्यो बेला । अहिले कृषि सहकारीमा पनि तरकारी, सुन्तला, केरा सहकारी छन् । सहकारीको विविधता यति धेरै छ की नहुने कुरा छँदै छैन । यसको विविधीकरणका कारण एउटा राष्ट्रिय सहकारी बङ्ंक छ राम्रै भयो, अरू थप बैङ्क चाहियो भने पनि दिनुपर्छ भन्ने हाम्रो दृष्टिकोण हो ।

एलाइन्सले सहकारीमा राजनीति हाबी हुने भयो भन्नेहरू पनि छन् यसमा के धारणा छ ?
राजनीति सबैका लागि अपरिहार्य हो । राजनीतिले देशदुनियाँ चलाउँछ, समाज बदल्छ । राजनीति भनेको अछुत त होइन नि । राजनीतिले समग्र नागरिकको हक अधिकार स्थापित गर्ने हो । नेपालको राजनीतिले पनि सबै नेपालीलाई समान हक दिलाउने हो । राजनीतिक नेताहरूले आफ्नो भोटलाई हेरेर काम गर्ने कि समग्र मुलुकको उत्थानका लागि काम गर्ने ? समग्र मुलुकका लागि काम गर्दा शिक्षक, कृषक, उद्यमी व्यवसायी, गृहणी सबैको त्यतिकै भूमिका हुन्छ । सहकारीकर्मीको पनि त्यस्तै विशिष्ट भूमिका होला । सहकारीकर्मीको भूमिकालाई नेपाली काङ्ग्रेसले प्राथमिकता दिने हो । सहकारी अभियानले नेपाली जनतालाई सङ्गठित गराउँछ, सचेत गराउँछ र अघि बढाउँछ । अहिले सबै नेपालीलाई शिक्षा, स्वास्थ्य, आवास, रोजगारी र सुरक्षा चाहिएको छ यो नेपालको अपरिहार्य आवश्यकता हो । जनताका आवश्यकता पूरा गर्ने क्रममा सहकारी सबैभन्दा ठूलो मित्र हुन सक्छ । सहकारीकर्मी सबै हाम्रा मित्र हुन्, हाम्रो सहकारीमा हस्तक्षेपकारी भूमिका होइन । सहकारीकर्मीलाई हाम्रो सधैँ सहयोग रहिरहन्छ ।

र अन्तमा ?
नेपालको समग्र विकासका लागि सहकारी महत्त्वपूर्ण हो अझ यो सूचना चौतारी सञ्चार सहकारी जस्तो संस्थाको ज्यादै महत्त्व छ । सूचना सञ्चार भनेकै सबै नेपाली नागरिकलाई जागरूक बनाउन चेतनशील बनाउन अति आवश्यक छ । प्रजातान्त्रिक पद्धतिलाई बलियो बनाउन, जनताको जीवनसँग जोड्ने, समाजका खराब कुराहरू हटाएर सभ्य समाज बनाउन यस्तो संस्थाले धेरै ठूलो महत्त्व राख्दछ । आगामी दिनमा प्रजातान्त्रिक समाजवादलाई सुदृढ गराउने क्रममा र सहकारी अभियानलाई सुदृढ गराउने अभियानमा हाम्रो सहयात्रा हातेमालो गरेर अघि बढ्नेछ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?