सहकारीलाई गृहजिल्लामा भव्य स्वागत


बागलुङ, ६ मङ्सिर । उपप्रधान तथा सहकारी तथा गरिबी निवारण मन्त्री चित्रबहादुर केसीलाई उहाँको गृहजिल्ला बागलुङमा अभिनन्दन गरिएको छ । उहाँको जन्मस्थान जिल्लाको गलकोटमा आयोजित विशेष समारोहमा शनिबार उपप्रम केसीलाई अभिनन्दन गरिएको हो । उहाँ प्रधानाध्यापक भई सेवा गरेको तत्कालीन गलकोट माध्यमिक विद्यालय ९अहिलेको गलकोट उच्च मावि० ले उपप्रम केसीको सम्मानमा अभिनन्दन समारोह गरेको थियो ।

सो अवसरमा उच्च माविका अध्यक्ष गुमानसिंह भण्डारी, प्राचार्य देवेन्द्र खत्रीलगायतले उपप्रधानमन्त्री केसीलाई अभिनन्दन गर्नु भएको थियो । कार्यक्रममा सहभागी शिक्षक, प्राध्यापक, सामाजिक अगुवा, शिक्षाप्रेमीलगायत सर्वसाधारणले समेत केसीलाई बधाई तथा शुभकामना दिएका थिए । उपप्रम केसीले गलकोट माध्यमिक विद्यालय हुँदा २०२५ सालमा प्रधानाध्यापक भई सेवा गर्नुभएको थियो ।

गलकोटको मल्ममा जन्मी नेपाली राजनीतिको शीर्ष स्थानमा पुग्नुभएका केसीलाई यस क्षेत्रमा शैक्षिक जागरण फैलाउने व्यक्तिको श्रेय पनि दिने गरिएको छ । उहाँ लामो समयसम्म शिक्षण पेसामा संलग्न हुनुहुन्थ्यो । केसी उपप्रम हुनु जिल्लाकै गौरवको विषय भएकाले उहाँको सम्मानमा अभिनन्दन समारोह राखिएको उच्च माविका प्राचार्य देवेन्द्र खत्रीले बताउनुभयो ।

उहाँ बागलुङ जिल्लामात्र नभई धवलागिरि अञ्चलबाटै सरकारको उपल्लो पदमा पुग्ने पहिलो व्यक्ति हुनुहुन्छ । “उहाँ हाम्रो गुरु पनि हुनुहुन्छ, गलकोट क्षेत्रको शैक्षिक विकास र जागरणमा उहाँको ठूलो योगदान छ” – प्राचार्य खत्रीले भन्नुभयो – “हाम्रो क्षेत्रले उहाँलाई उपप्रधानमन्त्रीका रुपमा पाउनु ठूलो गौरवको विषय हो, सफलता हो ।” गृहजिल्ला आएका बेला उपप्रम केसी विभिन्न कार्यक्रममा सरिक भइरहनुभएको छ ।

अभिनन्दनपछि उपप्रम केसीले शनिबार नै गलकोट बहुमुखी क्याम्पसमा बनेको स्मृति कक्षको उद्घाटन गर्नुभयो ।
उहाँलाई ठाउँठाउँमा स्थानीयवासीले बधाई र सम्मान दिएका थिए । गलकोटमा आयोजित अभिनन्दन समारोहमा बोल्दै केसीले मुलुकलाई आत्मनिर्भर बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले कुनै पनि सर्त या मूल्यमा राष्ट्रियता साट्न नसकिने बताउनुभयो । उपप्रम केसीले मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनताका विषयमा कसैसँग सम्झौता नहुने प्रष्ट पार्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर