साकोसकर्मीको चिन्ता र नेफ्सकुनको बाटो


-चन्द्र ढकाल-

प्रारम्भिक सहकारी संस्थाहरूलाई संगठित गर्नुका साथै व्यवस्थापन कौशल, सञ्चालन विधि एवम् पद्धति हस्तान्तरण गरी प्रारम्भिक संस्था सञ्चालनका लागि आवश्यक सेवासमेत प्रदान गर्ने उद्देश्यका साथ नेपालको सहकारी अभियानलाई संस्थागत गर्न गठित पहिलो संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (NEFSCUN) हो । यस मानेमा नेफ्सकुन सहकारी अभियानकै जेठो संघ हो । २०४८ सालको सहकारी ऐनले विभिन्न विषयगत प्रारम्भिक संस्था र ती विषयका जिल्ला र केन्द्रीय स्तरको संघ खोल्न सकिने प्रावधानको व्यवस्था गरेपछि अन्य विषयगत सहकारीका केन्द्रीय संघहरू गठन भए भने बचत तथा ऋण सहकारी संस्था (SACCOS) हरू नेफ्सकुनमा आबद्ध हुने क्रम पनि बढ्दै गयो । आफ्नो केन्द्रीय संघमा साकोसहरू आबद्ध हुने क्रम बढे पनि साकोसको संख्या बृद्धिको अनुपातमा आबद्धता न्युन नै रह्यो । अहिले पनि प्रत्यक्ष रूपमा नेफ्सकुनमा आबद्ध रहेका साकोसहरूको संख्या अभियानमा रहेका साकोसको १५ प्रतिशत भन्दा न्युन छ । तुलनात्मक रूपमा धेरै साकोसहरू सम्बन्धित जिल्लास्तरीय बचत संघहरूमा आबद्ध छन् र बचत संघहरू नेफ्सकुनमा आबद्ध छन् । यसरी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रहेका सदस्य संख्यालाई हेर्ने हो भने पनि २५-३० प्रतिशत भन्दा बढि साकोसहरू केन्द्र र जिल्लाको बचत संघ भित्रको अभियानमा नसमेटिएको देखिन्छ । सहकारी अभियानलाई सफल पार्न सम्बन्धित विषयका प्रारम्भिक संस्थाहरू संघमा आबद्ध हुन जरूरी छ भन्ने कुरा जगजाहेरै छ ।

नेफ्सकुनले ३ दशक लामो साकोस अभियानमा धेरै आरोह अवरोह पार गरिसकेको छ । २०४८ को ऐन नबन्दाका अवस्थामा पनि क्रियाशिल यस संघले आन्दोलन(Movement) र राज्य (Government) का बिचमा हुने द्वन्द्वको पनि सामना गरेको छ र अधिकांश विषयमा सहकारी अभियानको मर्मलाई स्थापित गराउने कुरामा दृढतापूर्वक लागेको छ । यसैकारण आज सहकारीका केन्द्रीय संघहरू मध्ये सबैभन्दा महत्वपूर्ण र आत्मनिर्भर संघका रूपमा नेफ्सकुनले आफूलाई उभ्याउन सफल भइरहेको छ । यो कुनै एकदुई व्यक्तिको प्रयासका कारणले सम्भव भएको होईन । स्थापना कालदेखि नै नेफ्सकुनमा नेतृत्व गर्ने सहकारी अभियन्ताहरूले राखेको दुरदृष्टी र स्वार्थरहित भावनाले नै नेफ्सकुनको यहाँसम्मको मार्गचित्र कोरेको हो । वर्तमान र भावि नेतृत्वले समेत त्यसमार्गचित्रलाई बुझेर अघि बढ्न जरूरी छ ।

वर्तमानसम्म आईपुग्दा नेफ्सकुनले धेरै विषयहरूलाई सम्वोधन गर्न जरूरी भएको छ, जुन स्वाभाविक पनि हो । नेफ्सकुनको हालै सम्पन्न २४औँ साधारणसभामा कतिपय गम्भिर विषयहरू उठे । नेफ्सकुनको नीतिगत विषयहरू र सञ्चालन विधिसँग सम्बन्धित ती विषयहरूलाई सदस्यको असन्तुष्टि र रोषका रूपमा मात्र लिइनुहुन्न । लोकतान्त्रिक पद्दति अनुरूप चल्ने सहकारीको संघलाई नेतृत्व गर्ने व्यक्तीहरूले उठेका विषयको गहनता कति छ भन्नेतर्फ ध्यान दिन जरूरी छ । निर्वाचनको म्याण्डेट निर्वाचित अवधिभर स्वेच्छाचारी ढंगले चल्ने इजाजतपत्र हो भन्ने भ्रम पाल्नु गलत हो भनेर बुझ्न जरूरी छ ।

२४ औँ साधारणसभामा सदस्यका तर्फबाट उठेका विषयमा साधारणसभा स्थलमा शाब्दिक सम्बोधन भन्दा बढि हुन नसक्नुलाई स्वाभाविक लिनुपर्छ । ती विषयहरू तत्काल सम्बोधन हुन सक्ने विषय पनि थिएनन् । चाहे फ्लोरबाट सदस्य प्रतिनिधीले उठाएका विषय हुन् चाहे साधारणसभाको कर्मकाण्डी प्रक्रियाको साक्षी बस्न अनिच्छुक/ असमर्थ सदस्य प्रतिनिधीले पर्चामार्फत व्यक्त गरेका भावनाहरू हुन्, कमसेकम नेफ्सकुनको नेतृत्व वर्गले ती विषयमाथि छलफल हुनुपर्छ भनेर साधारणसभामा स्विकार गर्नु स्वागतयोग्य कुरा हो । अब प्रश्न गरौँ, विषय माथि छलफल कसले, कसरी र कहिले गर्ने ? अध्यक्षज्यूलाई नम्र निवेदन गरौँ उहाँले अन्तिम समयमा उठाउनुभएको हाजिरीले नेफ्सकुन सदस्यहरूको कति प्रतिशतको प्रतिनिधित्व गर्छ र त्यति मत भित्रको बहुमतबाट पारित निर्णयले आज नेपालको सहकारी अभियानकै सबै भन्दा बलियो संघलाई कुन दर्जामा स्थापित गर्छ, सोच्न योग्य कुरा छ । अन्तरविरोध यहाँ निर छ, आज नेफ्सकुनमा आएका प्रतिनिधि कुनै प्रोक्सी होईनन्, यो विषम परिस्थितिमा पशुपतिनाथको तिर्थ गर्न साधारणसभाको साईत जुटाएर आएका तिर्थालु पक्कै पनि होईनन् । किनभने अघिल्लो यस्तै साधारणसभाबाट प्रारम्भिक संस्थाका जिम्मेवार पदाधिकारीमात्र प्रतिनिधी आउने व्यवस्था गर्दै विनियम संशोधन गरिएको थियो । को प्रतिनिधि आउने भन्ने विषय गहन होईन, प्रतिनिधीसम्बन्धी व्यवस्था पनि साधारणसभा ले नै गर्ने हो । तर त्यो विषय कसरी उठ्यो र त्यसले नेफ्सकुनमा के सुधार गर्‍यो भन्ने गहन विषय हो, त्यसतर्फ ध्यान जाओस् । बन्दसत्रको अन्तिम समयसम्म बसेर दक्षिण कोरियाको अध्ययन भ्रमणको आंशिक सुविधा हात पार्ने अति दुर्गम जिल्ला अछामका भाग्यमानि प्रतिनिधि नवराज देवकोटा हार्दिक बधाईका भागेदार हुनुहुन्छ साथै उहाँको आंशिक सुविधालाई झण्डै पूर्णमा रुपान्तरण गर्न मद्दत गर्ने सह्रदिय धनुषा बचत संघका प्रतिनिधिप्रति आभार व्यक्त नगरी रहन सकिन्न, जसले देवकोटालाई भ्रमणका लागि ११ हजार रुपियाँ बचत संघका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । पर्चामा उठेको विषय, नेफ्सकुन पदाधिकारीसँगको निकटताबाहेक तालिम र अध्ययन भ्रमणको अवसर पाउनु दुर्लभ कुरा हो । यदि त्यहि सत्य हो भने त्य दुर्लभ अवसर प्राप्त गरेकोमा देवकोटालाई थप बधाई दिऊँ ।

फ्लोरमा उठेका विषयमा अध्यक्षबाट सम्बोधन भयो, समग्र सहकारी अभियानसँग अन्तर्विरोध छैन, बचत संघहरूसँग अन्तर्विरोध छैन । पहिलोका बारेमा सहकारी ऐनका विषयमा समग्र अभियानसँग भिन्न मत राख्नु स्वभाविक हो तर त्यसका विषयमा अभियानसँगकै मन्थनबाट  यथोचित समाधान खोज्नु भन्दा पनि फरक ठाउँबाट परिणाम हात पार्ने प्रयत्नमा सिमित रहनुले संघलाई बलियो बनाउँछ कि कमजोर सोच्न आवश्यक छ । दोस्रो विषयमा, कतिपय जिल्लाका बचत संघसँगको सम्बन्धमा दृष्टान्त देखियो अन्तर्लगानीका लागि नेफ्सकुनले बचत संघसँग एक हात मिलाउने र अर्कोहातमा छुरा बोक्ने । आज मुलुक संघियतामा गएको परिप्रेक्ष्यमा जिल्ला स्तरीय बचत संघ भोलि अस्तित्वमा नरहने भन्ने मान्यतामा काम गर्नु कपोलकल्पित कुरामात्र नभएर गैरजिम्मेवारपना पनि हो भनिरहनु पर्दैन । त्यति सहज रूपमा ५७ जिल्लाका वचत संघ स्वभाविक विसर्जन हुने विषय पनि होईन । नयाँ ऐन र नयाँ सन्दर्भको कुरा अलग होला । अहिलेसम्म २०४८ को सहकारी ऐन क्रियाशिल छ, त्यसले जिल्लास्तरीय विषयगत संघको परिकल्पना गरेको छ र त्यस अनुरूप गठित बचत संघहरू नेफ्सकुनसँग आबद्ध छन् । तसर्थ यो नेफ्सकुनको चासोको विषय हो र यसलाई सम्बोधन गर्नका लागि सकिन्थ्यो भने साधारणसभामा व्यापक रूपमा निकासको खोजि गरिनुपर्थ्यो । त्यसका लागि नेतृत्व बर्गले ध्यान दिन जरूरी थियो तर यस विषयमा उठेका आवाजले पनि साधारणसभाका नियमित विषयभन्दा बढि प्राथमिकता पाउन सकेनन्, यो दुर्भाग्य हो । अविलम्ब जिल्ला स्तरीय संघहरूको भेला बोलाएर यसबारे साकोस अभियानको साझा धारणा तय गर्नुको विकल्प छैन ।

प्रसङ्गवश, नेफ्सकुन पदाधिकारीले बन्दसत्रमा दिएको जवाफमा नेफ्सकुन प्रारम्भिक संस्थाका सदस्यहरूप्रति जिम्मेवार छैन, प्रारम्भिक संस्थाहरूप्रति मात्र जिम्मेवार छ भन्ने अभिव्यक्ती पाइयो । आबद्ध साकोसका प्रत्येक सदस्यले वार्षिक ५ रुपियाँको दरले गरेको योगदानलाई कुन कर्मका लागि गरिएको मुठिदान सम्झिनुपर्ने हो, नेतृत्ववर्गले स्पष्ट पारिदिन जरूरी छ । अन्य आन्तरिक शुशाषन र पारदर्शिताका कुरा त फ्लोरमा पनि उठे र पर्चामा पनि उठाइएका थिए तिनको पनि यथोचित सम्बोधन र पालना आगामी दिनमा हुनुपर्छ ।

नेफ्सकुनलाई लोकतान्त्रिक मूल्यमान्यता अनुरूप चलेको देखाउने नभई सो अनुरूप चल्ने अवस्था निर्माण गर्न म वर्तमान नेतृत्वबर्गको ध्यानाकर्षण गराउन चाहन्छु । साकोसका सदस्य गन्तिका आधारमा वार्षिक शुल्क लिइरहेको संघले प्रारम्भिक संस्था भन्दा पर आफ्नो उत्तरदायित्व नभएको अध्यक्षले नै जाहेर गर्नु गैरजिम्मेवारीको पराकाष्टा हो । साकोसको समग्र विकास र प्रवर्धनका लागि सदस्यहरूलाई शसक्तिकरण गर्नु प्रारम्भिक संस्थाको मात्र जिम्मेवारी नभएर केन्द्रिय संघको पनि हो । विषय र प्रसङ्ग हेर्दा नेफ्सकुन आज सदस्य भन्दा सञ्चालक र पदाधिकारी केन्द्रिय भईरहेको देखिन्छ, यस किसिमले अघि बढ्दा सहकारी क्षेत्रमा सामन्ती प्रवृत्ति स्थापित हुने देखिन्छ । यस तर्फ बेलैमा ध्यान दिएर सुधार गर्न आवश्यक छ ।

आज नेफ्सकुनले बचत तथा ऋण सहकारी ऐनलाई जुन ढंगले लैजान खोजिरहेको छ त्यसमा बचत संघहरूको धारणा बुझ्न जरूरी छ । नेफ्सकुनका प्रत्यक्ष सदस्य जति छन् त्यो भन्दा बढि सदस्य ५८ जिल्लाका बचत संघका छन् । नेफ्सकुन नेतृत्वले विदेशी मोडेलको मात्र प्रशंसा गरेर कुनै कुरा साकोस अभियानमा लाद्न खोज्दा हुन सक्ने सम्भावित दुर्घटनाबारे सजग हुनुपर्छ । साधारणसभाबाट जुन ढंगले नेफ्सकुनको फिल्ड अफिसलाई शाखा कार्यालयको नाममा विनियम संशोधन गरेर बैधानिकता दिन खोजियो त्यो प्रक्रिया र पद्दति गलत छ । यस्तो विषयमा सरोकारवाला जिल्ला वचत संघका प्रतिनिधीको विरोधको बावजुद झिनो उपस्थिति भित्रको ध्वनी मतबाट प्रस्ताव पारित भएको घोषणा गर्दै संशोधनको प्रक्रियामा जाने हो भने यसले नेफ्सकुनको बचत संघहरूसँगको सम्बन्धमा अझ नकारात्मक असर पार्छ । संसदबाट पारित भइनसको ऐनको हवाला दिँदै वैधानिक रूपमा जिल्लाको अभियानको नेतृत्व गरिरहेका संघहरूलाई विस्थापित गर्ने रणनीतिका साथ सदस्यबाट जम्मा भएको पैसा मनोमानी ढंगबाट विनियम विपरित खोलिएका फिल्ड अफिसको भाडा, तलब, भत्ता, प्रशासनिक खर्च र उद्घाटन कार्यक्रममा खर्च गर्ने गल्ति गरिसकेको नेफ्सकुन केन्द्रीय नेतृत्वले शाखा खोल्ने विषय सम्बन्धी विनियम संशोधन प्रक्रिया तत्काललाई रोकी बचत संघहरू सँगको बृहत् छलफल र समन्वय अनुरूप अघि बढ्न आवश्यक छ ।

 अन्त्यमा, सम्पूर्ण साकोसकर्मीहरूलाई आफ्नो केन्द्रीय संघको प्रत्येक निर्णयमा सहभागिता जनाउन जरूरी छ । बहुमत निष्क्रिय रहेर अल्पमतले गरेका निर्णयहरूले वैधानिकता प्राप्त गर्न सक्लान तर संघको लक्ष्यप्राप्ति हासिल हुँदैन । तसर्थ आगामी दिनमा सक्रियतापूर्वक नेफ्सकुनका गतिविधिमा चासो राख्न र हस्तक्षेपपूर्ण उपस्थितिका रहनु आवश्यक छ । हामी सबैको चासो र चिन्ताले मात्र हाम्रो छाता संगठनलाई वास्तविक रूपमा साकोसको छाताको रूपमा सर्वस्विकार्य बनाउन सक्छ ।हिमालय टाइम्सबाट साभार

जय सहकारी !

(लेखक ढकाल राष्ट्रिय सहकारी संघ लि.का सञ्चालक एवम् नेफ्सकुनको अघिल्लो निर्वाचनमा अध्यक्षका उम्मेदवार हुनुहुन्छ।)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक