कृषिउपज सङ्कलन तथा बिक्री केन्द्र सञ्चालन



पर्वत ५ माघ । ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको व्यवस्थित बजारीकरण नहुँदा उत्पादित वस्तुहरु बिक्री हुन नसकेका बेला पर्वतमै पहिलोपटक कृषिउपज सङ्कलन केन्द्र सञ्चालन भएको छ ।

पर्वत सदरमुकाम कुश्माबजारस्थित बगैँचाचोकमा सङ्कलन केन्द्र स्थापना भएको हो । व्यवस्थित बजारको अभावमा कृषकले उत्पादन गरेका वस्तु बिक्री गर्न समस्या भइरहेका बेला सरकारी निजी र साझेदारी पहलबाट सङ्कलन केन्द्र सञ्चालनमा आएको हो । कुल रु २६ लाख ४६ हजार ९१९ लाखको लागतमा सङ्कलन केन्द्र स्थापना गरिएको छ ।

यसका लागि कृषि व्यवसाय प्रवद्र्धन तथा बजार विकास निर्देशनालयबाट रु १४ लाख २५ हजार, एक गाउँ एक उत्पादन कार्यक्रममार्फत चार लाख, जिल्ला विकास समितिबाट तीन लाख ८४ हजार र पर्वत उद्योग वाणिज्य सङ्घको चार लाख ३७ हजार ९१९ रुपैयाँ सहयोग भएको छ ।

उक्त भवन निर्माणका लागि स्थानीय शिवालय नमुना उच्च माविले झन्डै रु दुई करोड मूल्य बराबरको एक रोपनी नौ आना जग्गा उपलब्ध गराएको थियो । बिक्री केन्द्र स्थापना भएपछि जिल्लाको सदरमुकाम र ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपजको बिक्री वितरणमा सहज हुने भएको छ । पछिल्लो समयमा जिल्लामा झन्डै २०० भन्दा बढी युवा व्यावसायिक तरकारी खेतीमा लागे पनि व्यवस्थित बजारको अभावमा गतिलो मूल्य पाउन र समयमा आफ्नो उत्पादन बिक्री गर्न नसकेका बेला सङ्कलन केन्द्रमार्फत सहयोग पुग्ने जिल्ला कृषि विकास कार्यालय पर्वतका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।

उक्त सङ्कलन केन्द्रलाई राजधानीमा रहेको कालीमाटी, पोखराको सस्तो तरकारी बजार जस्तै रुपमा अगाडि बढाइने भएको छ । कृषकले आफूले उत्पादन गरेका उपज सङ्कलन केन्द्रमा लैजाने र त्यहीँबाट थोक तथा खुद्रा मूल्यमा बिक्री गरिने भएको छ ।

कृषकले सङ्कलन केन्द्रमा आफ्ना उत्पादन पठाएपछि बिक्रीको समस्या नहुने पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिओम शर्मा लामिछानेले बताउनुभयो । उहाँका अनुसार समयमै तरकारी तथा अन्य कृषिउपज बिक्री नभएर हैरान भएका कृषकका लागि यसले निकै ठूलो राहत दिने भएको छ । यसबाट व्यावसायिक कृषक प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् ।

यसैबीच उक्त सङ्कलन केन्द्रको सोमबार क्षेत्रीय कृषि निर्देशनालय पोखराका क्षेत्रीय निर्देशक बेनीबहादुर बस्नेतले उद्घाटन गर्नुभयो ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर