राप्तीका सहकारी अगुवाहरु दाङमा ‘सुरक्षाका लागि सहकारी मर्ज आवश्यक’


-पाण्डव शर्मा-

माघ २६, घोराही । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष ऋषिराज घिमिरेले भविष्य सुनिश्चितका लागि बचत तथा ऋण सहकारी संस्थाहरुमा मर्ज आवश्यक भएको बताएका छन् ।
मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले त्यस्तो बताउनुभएको हो । घिमिरेले निश्चित मापदण्ड तयार पारेर बचत तथा ऋण सहकारीहरुको मर्ज प्रक्रिया शुरु गरिएको जानकारी दिए । ‘आफ्नो संस्था तथा सदस्यहरुको आर्थिक सुरक्षाका लागि बचत तथा ऋण सहकारी संस्थाहरु मर्ज हुनुको विकल्प छैन,’ उनले भने, ‘सहकारी संस्थाहरुमा एकरुपता आउन जरुरी छ ।’ मुलुकका दुई जिल्ला बाँहेक सबै जिल्लामा बचत तथा ऋण सहकारीहरु पुगिसकेको जानकारी दिदै घिमिरेले पछिल्लो समय सहकारीहरु ग्रामीण केन्द्रित हुन थालको बताए । सहकारी संस्था खुल्ने क्रम जारी भए पनि सहकारी शिक्षाको अभाव भएको उनको भनाई छ । सहकारी संस्था सञ्चालनसम्बन्धी सदस्य तथा पदाधिकारीहरुलाई प्रशिक्षण दिनुपर्ने घिमिरेले बताए ।
दाङ बचत तथा ऋण सहकारी संघका अध्यक्ष अञ्जनकुमार पौडेलले दाङमा बचत तथा ऋण सहकारी संस्थाहरुको प्रगति राम्रो भएको बताए । ‘थुप्रै चुनौतिहरु भए पनि हामीले सहकारीको व्यवस्थापनमा निकै ध्यान दिएका छौं,’ उनले भने ।
यसैबीच नेफ्स्कुनको आयोजनामा राप्ती अञ्चलस्तरीय बचत तथा ऋण सहकारी संस्थाका अगुवाहरुको सहभागीतामा ‘साकोस एकरुपता तथा नेफस्कुन अभिमुखिकरण’ सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले बचत तथा ऋण सहकारी संस्थाहरुमा देखिएको विकृति अन्त्यका लागि सबै पक्षले ध्यान दिनुपर्ने बताएका थिए । उनीहरुले राज्यको तर्फबाट पनि सहकारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा सहकारी संघ दाङका अध्यक्ष गोविन्दप्रसाद शर्मा, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद सुदर्शन रिजाल र कृषि सहकारी संघ दाङका अध्यक्ष पद्मा आचार्यले मन्तव्य व्यक्त गरेका थिए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक