राष्टिय यान्त्रिकरण प्रदर्शनी आयोजना हुने
काठमाडौं, कृषिमा यान्त्रिकरण पद्धति अपनाऔं, कृषकको उन्नति गरौं भन्ने मूल नाराका साथ दोश्रो राष्टिय यान्त्रिकरण प्रदर्शनी आयोजना हुने भएको छ । फागुन २३ गतेदेखि २७ गतेसम्म बाँकेको कोहलपुरमा हुने प्रदर्शनीमा कृषि औजार, उपकरण तथा यन्त्रका साथै बैंक तथा वित्तीय संस्था गरी कुल एकसय ५० भन्दा बढी स्टल रहने आयोजक संस्थाले जनाएको छ । मेलामा एकहजार भन्दा बढी कृषि औजार तथा उपकरण रहने आयोजक संस्था कृषि इन्जियरिङ निर्देशनालय र नेपाल कृषि मेसिनरी व्यवसायी संघले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । कृषि उपकरणको प्रयोगमामार्फत कृषिको व्यवसायिकरणमा जोड दिने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको आयोजक संस्था कृषि इन्जिनियरिङ निर्देशनालयका निमित्त कार्यक्रम निर्देशक मधुसुदन बस्नेतले बताए ।
मेलाबाट कृषि यन्त्र उपकरण तथा सेवाको आन्तरिक बजार प्रवद्र्धनमा सहयोग पुग्ने, कृषि यन्त्र व्यवसायी र कृषकबीच समन्वय हुने, व्यवसायिक चेतना अभिबृद्धि हुने, लगानीको अवसर सिर्जना हुने आयोजकको अपेक्षा छ । निशुल्क स्टल र निशुल्क प्रवेशको व्यवस्था गरिएको मेला ५० हजारभन्दा बढीले अवलोकन गर्ने बताइएको छ । सरकारले दुई वर्षअघि चितवनको नारायणगढमा पहिलो यान्त्रिकरण मेला आयोजना गरेको थियो । उक्त मेलाका ५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । यसपटकको मेलामा दोव्वर कारोबार हुने आयोजकको दाबी छ ।