माछापालनमा रमाउँदै कृषक


चितवन, फागुन ९ । चितवनमा माछापालना व्यवसाय फस्टाउन थालेको छ । पोल्ट्री र दूध उत्पादनमा झण्डै आत्मनिर्भर रहेको ब चितवन जिल्लामा पछिल्लो समय व्यावसायिकरुपमा माछापालन गर्ने बढेका छन् ।
किसानले सहकारी खोलेर व्यवसायीक माछापालन शुरु गरेका हुन् । बर्सेनि परम्परागत खेती छोडेर माछापालन गर्ने कृषक र जलाशय थपिँदै गएपछि माछापालन फस्टाउन थालेको हो ।
जिल्ला कृषि विकास कार्यालय, चितवनका अनुसार हाल ८०० हेक्टर क्षेत्रफलमा ५ सय ४ हेक्टर जलाशयमा माछापालन गरिएको छ । माछापालनमा एक हजार १ सय ७२ कृषक प्रत्यक्ष रुपमा संलग्न छन् ।
जिल्ला कृषि विकास कार्यालय चितवनका मत्स्य विकास अधिकृत पर्शुराम यादवका अनुसार पोखरी सङ्ख्या दुई हजार ७३ वटा रहेका छन् । जिल्लाको वार्षिक माछाको उत्पादन दुई हजार मेट्रिक टनभन्दा बढी छ । गत वर्ष एक हजार ९२५ दशमलव २८ मेट्रिक टन माछा उत्पादन भएको यादवले जानकारी दिए ।

मत्स्य व्यवसायी सङ्घले भने सरकारी तथ्याङ्कभन्दा बढी माछा पालिएको दाबी गरेको छ । सङ्घका अध्यक्ष जोगेन्द्र चौधरीले आठ हजार हेक्टर जलाशय रहेको र वार्षिक उत्पादन तीन हजार ६०० मेट्रिक टन रहेको बताए । सरकारले वार्षिक रुपमा तथ्याङ्क लिँदै जाने हुँदा यस वर्ष थपिएको तथ्याङ्क अद्यावधिक हुन नसक्दा कम देखिएको उनको भनाई छ ।
सरकारी अनुदानका कारण पनि माछापालन व्यवसायतर्फ आकर्षण बढ्दो रहेको बताइन्छ । गत आवमा मात्रै ४६ दशमलव २५ हेक्टर जलाशय सरकारी अनुदानमा थपिएको यादवले बताए। सरकारले प्रतिहेक्टर रु एक लाख अनुदान दिएको थियो । अभियानमुखी मत्स्य उत्पादन कार्यक्रममार्फत ८० हेक्टरमा माछापालनका लागि अनुदान दिने कार्यक्रम भए पनि भूकम्पका कारण पोखरी खन्न नसकेपछि ४६ दशमलव २५ हेक्टर मात्र थपिएको हो ।
राम्रो आम्दानी हुने भएपछि कृषक माछापालन गर्न उत्साहित भए पनि वैशाख १२ को भूकम्पसँगै एक्साभेटर, जेसिबीजस्ता उपकरणको अभावमा पोखरी खन्न नसक्दा अनुदान रकम फ्रिज भएको उनको भनाई छ ।
गत वर्ष सरकारी अनुदान नलिएरै १० हेक्टर अरु थप जलाशय थपिएको थियो । यसवर्ष सरकारले प्रतिहेक्टर रु तीन लाख अनुदान दिने भएको छ । जसका लागि १९४ जना कृषकले आवेदन दिएको र सोको छनोटका लागि विभागमा पठाइएको यादवले बताए ।

जिल्लामा सात जातका माछापालन हुने गरेको छ । जसमा रहु, नैनी, सिल्भर कार्प, बिगहेड कार्प, ग्राम पार्क, कमनकार्प, भाकुर जातका माछा रहेका छन् । जिल्लामा प्रतिहेक्टर ३ दशमलव ८२ मेट्रिक टन माछा उत्पादन हुने गर्दछ । जिल्लाको माडी, पूर्वी चितवनको कुमरोज, कयर, बछौली, लालपर्सा, पश्चिम चितवनको दिव्यनगर, गुञ्जानगर, शङ्करचोक, पटिहानी, जगतपुरलगायतका क्षेत्रमा माछापालन गरिँदै आएको छ ।

माग बढ्दो भए पनि माछापालन गर्ने किसानले विभिन्न समस्याका कारण सोचेजस्तो अघि बढ्न नसकेको जनाएका छन् । प्राविधिक कठिनाइसँगै भारतीय माछाको निर्वाध आयात एकातर्फ समस्या छ भने अर्कोतर्फ उद्योगसरह विद्युत् महसुल तिर्नुपर्ने, कृत्रिम रुपमा पानीको जोहो गर्नुपर्ने, रोगव्याधीका समस्याहरु देखिइरहने माछापालक कृषक वासु सापकोटाले बताए ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न
कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न
हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न
घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन