बचतकर्ता नठग्न निर्देशन


झापा फागुन २०। डिभिजन सहकारी कार्यालय झापाले जिल्लामा सञ्चालनमा आएका सहकारीलाई बचतकर्ता नठग्न निर्देशन दिएको छ । कार्यालयले खासगरी ठूला कारोबार गर्दै आएका जिल्लाका २८ वटा सहकारी संस्थालाई ‘कलेक्टरमार्फत बचतकर्ता नठगिउन्’ भन्दै ध्यानाकर्षण गर्राको हो ।

केन्द्रीय निकायको निर्देशनानुसार डिभिजन सहकारीले अन्य सहकारीलाई समेत सचेत गराउँदै पत्र पठाइसकेको छ । नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको चन्द्रगढीस्थित सेवा केन्द्रका कलेक्टर राम पाठकले बचतकर्ताको रकम ठगी गरेपछि सहकारी विभागले डिभिजनलाई सर्कुलर जारी गर्न निर्देशन दिएको हो ।
डिभिजन सहकारी कार्यालय झापाका प्रमुख माधवप्रसाद पोखरेलले पाँच करोड रुपैयनन्देखि ५० करोड रुपैयाँसम्मको कारोबार गर्दै आएकामध्ये २८ वटा सहकारीलाई सचेत पत्र पठाइएको जानकारी दिए ।

डिभिजनले सचेत पत्र पठाएका संस्थाहरू नेपाल बहुउद्देश्यीय सहकारी, सहारा नेपाल बचत तथा ऋण सहकारी, जुरोपानी बहुउद्देश्यीय सहकारी, आधुनिक बचत तथा ऋण सहकारी, नागरिक बचत तथा ऋण सहकारी, कर्णाली बचत तथा ऋण सहकारी, जीविको कृषि सहकारी संस्था, धौलागिरि बचत तथा ऋण सहकारी, मेची सहकारी संस्था, हाम्रो नेपाल बचत तथा ऋण सहकारी, सिम्रिक बचत तथा ऋण सहकारी, सञ्जीवनी बचत तथा ऋण सहकारीलगायतलाई सर्कुलर जारी गरेको हो ।
संस्थाको सेवा केन्द्रको विवरण र कलेक्टरको व्यक्तिगत विवरणसमेत डिभिजनले ती सहकारी संस्थासँग माग गरेको छ । सहकारीका सदस्यहरूको पासबुक र संस्थामा रहेको व्यक्तिगत लेजर खातालगायत अन्य आवश्यक कागजपत्र मिलान र भिडान गर्न र सोको जानकारी चाँडोभन्दा चाँडो पठाउन डिभिजन सहकारी कार्यालयले पत्रमा उल्लेख गरेको छ ।

डिभिजन सहकारीका प्रमुख पोखरेलले पहिलो चरणमा २८ वटालाई र निकट भविष्यमै अरु २८ वटा ठूला कारोबार गर्ने सहकारीलाई सोही आशयको सचेत पत्र पठाइने बताए ।

“एउटा सहकारीमा ठगी भएपछि अरुमा पनि त्यस्तै अवस्था नआओस् भनेर सजग गराइएको हो”, उनले भने ।

झापामा ८सय ५४ वटा सहकारी रहेका छन् । त्यसमध्ये ५६ वटा संस्थाले कलेक्टरमार्फत बचत सङ्कलन गर्दै आएका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर