दक्षिण एसियामै व्यापारिक केन्द्र बनाइने


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलाले दक्षिण एसियामा व्यापारिक सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेकी छिन् ।
बिहीबार भृकुटीमण्डपमा शुरु भएको पाँचौँ अन्तर्राष्ट्रिय व्यापार मेला, २०१६ उद्घाटन गर्दै आधुनिकीकरण र उदारीकरणको अवसर र चुनौतीका बीच स्वदेशी उत्पादनलाई प्राथमिकता दिई अर्थतन्त्रलाई माथि उठाउनुपर्नेमा जोड दिइन । सविधानले राजनीतिक सङ्क्रमणकाल अन्त्य गरी मुलुक आर्थिक विकासमा लम्किएको उल्लेख गरिन । वैदेशिक लगानीलाई आकर्षित गराउन र निर्यात बढाउन ध्यान दिन सके अर्थतन्त्र मजबुत बन्न सक्ने उनको विश्वास थियो ।
राष्ट्रपति भण्डारीले नयाँ व्यापारिक साझेदारीको खोजी, स्थानीय कच्चा पदार्थमा आधारित उद्योगमा जोड दिन आवश्यक भएको बताइन । मानव संशाधनका विकास, पर्यटन विकास, रोजगार, सीप, पारस्परिक लाभ, मौलिक कलालाई आत्मसात् गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अघि बढ्न ढिला भइसकेको बताइन ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले पछिल्लो समयमा व्यापार मेलाको सङ्ख्या बढे पनि उपयुक्त स्थान र पूर्वाधार विकासको अभाव रहेको गुनासो गरे । चोभारमा अन्तर्राष्ट्रिय व्यापार मेलास्थल बनाउन ढिला भइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । उनले मेलाबाट उपभोग्य वस्तु र नेपाली उत्पादनको बजार बढ्न गई निर्यात बढ्न सके अर्थतन्त्र सबल हुने विश्वास व्यक्त गरे ।
भारतीय चेम्बर अफ कमर्सका महानिर्देशक डा राजीव सिंहले नेपाल र भारतबीच शताब्दीदेखिकोे लामो र ऐतिहासिक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय उद्योगी ऊर्जा विकासमा काम गर्न सोच रहेको बताए ।
‘नेपाली वस्तु प्रवद्र्धन समृद्ध नेपाल निर्माण’ भन्ने नाराका साथ वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजनामा सुरु भएको पाँचदिने मेलामा हस्तकलादेखि जडीबुटीसम्मका उत्पादन रहेका छन्।
महासङ्घका व्यापार मेलाका संयोजक केशवराज पाण्डेका अनुसार ३५० कक्ष रहेको मेलामा चीन, भारत, बङ्गलादेश, पाकिस्तान र अन्य मुलुकका उत्पादन रहेका छन् ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

इन्द्रस्थानको सातौँ वार्षिक साधारण सभा सम्पन्‍न
बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर