सरसफाईमा सक्रिय बन्दै सहकारी


बागलुङ,चैत ५ । फोपोरमैला संकलनमा यहाँको एक सहकारी सक्रिय भएर लागेको छ । जिल्लाको नगरक्षेत्रको फोहर व्यवस्थापनको जिम्मा सहकारीले लिएपछि नगर पनि सफाउन्मुख भएको छ ।
गत वर्ष खुलेको धवलागिरि फोहरमैला व्यवस्थापन तथा सरसफाइ सहकारीले नगरको सफाइ गर्दै आएको छ । बागलुङ नगरपालिका कार्यालय र सहकारीबीच फोहर सङ्कलन र व्यवस्थापनसम्बन्धी दुईपक्षीय सम्झौता भएको छ । सहकारीले विगत १० महिनादेखि निःशुल्क रुपमा नगरको फोहर व्यवस्थापनमा सघाउँदै आएको थियो । सहकारीका अध्यक्ष सुधीर श्रेष्ठले नगरपालिकालाई सरसफाइमा नुमना बनाउने बताएका छन् ।

यसअघि नगरपालिका आफैँले फोहर व्यवस्थापनको काम गर्दै आएको थियो । फोहर व्यवस्थापनमा प्रयोग हुँदै आएका दुईवटा सवारी र ६ जना कर्मचारीसमेत सहकारीलाई हस्तान्तरण गरिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारीले बताए ।
उहाँका अनुसार पूर्ण सरसफाइयुक्त नगरपालिका बनाउन सहकारीमार्फत काम सुरु गरिएको हो । “अबदेखि फोहर नउठ्ने वातावरण सिर्जना हुन दिन्नौँ, नगरलाई स्वच्छ बनाउन हामी मिलेर सहकार्य गर्छौं”, अधिकृत अधिकारीले भने । सरकारले सबैतिर टेक्ने होइन, देख्ने हो भन्ने अवधारणाबाट फोहर व्यवस्थापनको जिम्मा सहकारीलाई लगाएको उनको भनाई छ ।

समयमा फोहर उठ्न नसकेको र सार्वजनिक बिदाका दिनमा काम नभएको भन्दै नगरवासीबाट गुनासो आउने गरेको थियो । सहकारीले बिदाका दिनमा पनि फोहर उठाउने प्रतिबद्धता जनाएको छ । सहकारीलाई दिइएको सवारीका लागि इन्धन र कर्मचारीको तलब भने नगरपालिकाले नै व्यहोर्ने जनाइएको छ । त्यसबाहेक अन्य व्यवस्थापन खर्चका लागि नगरपालिकाले सहकारीलाई आगामी असार मसान्तसम्मका लागि पाँच लाख ७६ हजार ५०० रुपैयाँ दिने सम्झौता भएको छ ।

सो रकम सवारी पार्किङ, ल्यान्डफिल्ड साइट व्यवस्थापन, सञ्चार, कार्यालय व्यवस्थापनमा खर्चन पाइने प्रावधान राखिएको छ । पहिलो चरणमा पाँच महिनाका लागि सम्झौता भए पनि सहकारीले पाँच वर्षसम्म फोहर व्यवस्थापनको जिम्मा लिएको हो । हरेक वर्ष असार मसान्तमा सम्झौता नवीकरण गर्दै जाने विनियम पनि बनाइएको छ ।

स्थानीय स्वायत्त ऐन, सार्वजनिक खरिद ऐन तथा आर्थिक नियमावलीलाई पनि सम्झौतामा उल्लेख गरिएको छ । नगरस्तरीय राजनीतिक दलको संयन्त्रले पनि सहकारीलाई जिम्मा दिने कुरामा सहमति जनाएको छ । सहकारीले फोहरलाई सिसाजन्य, प्लास्टिकजन्य र कुहिने फोहर गरी तीन भागमा छुट्याएर व्यवस्थापन गर्ने योजना बनाएको छ ।

कुहिने फोहरबाट मल बनाउने, सिसाको उचित व्यवस्थापन गर्ने र प्लास्टिकजन्य फोहरलाई नष्ट गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । सहकारीसँग यसअघि नै रहेको एउटा र नगरपालिकाबाट प्राप्त दुई गरी तीन सवारी फोहर सङ्कलनमा प्रयोग हुनेछन् । फोहरको उचित व्यवस्थापन र विसर्जनका लागि नगरपालिका कार्यालयले ९० लाख खर्चेर डम्पिङ साइट निर्माण गरेको छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

नवलपुरमा कोपोमिस दाखिला तथा भाखा नाघेको ऋण व्यवस्थापन कार्यक्रम सम्पन्न
सुनसरीमा साकोसहरुबीच असल सिकाई आदान प्रदान
धनुषामा साकोसहरुका लागि वार्षिक कार्ययोजना तथा बजेट निर्माण तालिम सञ्चालन
सदस्य सम्बन्ध व्यवस्थापन तालिम सम्पन्न