एक करोडमा गाईफार्म वार्षिक १२ लाख आम्दानी


पाल्पा, चैत १२ । पाल्पामा एक करोड लागतमा गाईफार्म सञ्चालनमा आएको छ । मदनपोखराका युवा कृषक सुकदेव रिजालले कृषिमा व्यवसायीकरण गर्नका लागि एक करोडको लगानीमा गाईफार्म सञ्चालनमा ल्याएका हुन् ।

रिजालले दूध उत्पादनमा यथेष्ट आम्दानी हुने आशा देखेर लगानी बढाएको बताएका छन् । जिल्लाकै ठूलो लगानीमा सञ्चालित गाईफार्म हेर्नेको अहिले दिनहुँ घुइँचो लाग्ने गरेको छ । गाउँमै रमाउने र गाईपालनबाट दीर्घकालीन रुपमा मनग्य आम्दानी गर्न लगानी गर्ने सोच लिएर उनले गाईफार्म खोलेका हुन् ।

चलचित्र हल सञ्चालन, यातायात व्यवसायी, व्यापारलगायतका लगानी गरिसकेका रिजालले पछिल्लो समयमा गाई सञ्चालनमा ल्याएका हुन् । बैंकबाट ऋण लिएर व्यवसाय रिजालले उत्पादनको पहिलो आम्दानीबाट ऋण तिर्दै छन् ।

फार्ममा जर्सी, वर्णशङ्कर क्रस जातका उत्पादित माउ गाई, बाच्छाबाच्छी गरी जम्मा ७० वटा गाई रहेका छन् । दुहुना ३० र २५ वटा ब्याउनी गाई छन् । दैनिक २५० लिटरसम्म दूध उत्पादन हुन्छ । “वार्षिक रु १२ लाख बराबरको आम्दानी हुन्छ” उनले भने ।

फार्म निर्माण र गाई खरिदमा रु ५०÷५० लाख लगानी गरेका रिजालले पाँचजनालाई रोजगारी दिएका छन् ।
पशुसेवा कार्यालयले एक लाख रुपैयाँको अनुदानमा दूध दुहुने मेसिन, गतवर्ष भकारो सुधारतर्फ ५९ हजार र गोठ सुधारका लागि एक लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ ।

आफ्नो पुख्र्यौली दुई रोपनी जग्गामा रिजालले फार्म सञ्चालन गरेका हुन् । दुग्ध उत्पादक सङ्घका अध्यक्षसमेत रहेका रिजालले ४सय रोपनी जग्गा वार्षिक चार लाखमा भाडामा लिई पशुलाई चाहिने घाँस आफैँ उत्पादन गर्छन ।
“विदेशको लगानी कृषिमा गरे यही आम्दानी गर्न सकिन्छ” उनले भने । दूध उत्पादनमात्र नभएर बाच्छी हुर्काएर तिनैबाट आम्दानी लिने उनको योजना छ ।

उनले मलमूत्रको सदुपयोगका लागि यसैवर्षदेखि २० रोपनी जग्गामा तरकारीखेती गरिसकेका छन् । मल व्यवस्थापनका लागि २४ वटा ट्याङ्कीमा गड्यौला मल उत्पादन गरी बिक्री गर्छन । “कृषकलाई अनुदान रकम होइन, ऋण दिए मेहनत गरेर व्यवसाय गर्छन्, आम्दानी आफैँ लिन सक्छन” उनले भने ।

लाखौँ रुपैयाँ ऋण गरेर विदेश जानुभन्दा स्वदेशमै बसेर तरकारी, फलफूल र पशुपालन व्यवसाय गरेर आम्दानी गर्न सकिने उनको विश्वास छ ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

जागिरे दवाब छोडेर किसानी कमाल
नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कून
जिल्ला सहकारी संंघ बाँकेको अध्यक्षमा सुवेदी
उद्यम विकास साकोसको साधारणसभा सम्पन्न