५९औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भ र सहकारी क्षेत्रलाई नयाँ दिशाको खाँचो


– चन्द्र ढकाल

आज नेपालभर ५९औँ राष्ट्रिय सहकारी दिवस विभिन्न कार्यक्रम सहित भव्य रूपमा मनाइ राखिएको छ । बाढि पिडितहरूलाई आर्थिक रूपमा पुनरूत्थान गर्ने उद्देश्यले समाजसेवी वखान सिंह गुरूङको पहलमा नेपालको पहिलो सहकारी संस्था ‘बखान ऋण सहकारी’ स्थापना भएको २०१३ साल चैत्र २० गतेको स्मरणमा प्रत्येक वर्ष चैत्र २० लाई सहकारी दिवसका रूपमा मनाउने गरिएको छ । नेपालको सहकारी अभियानले यो ५९ वर्षको कालखण्डमा निकै आरोह अवरोहहरू पार गरिसकेको छ । सहकारीको सिद्दान्त र मूल्यमान्यताले प्रजातान्त्रिक मर्म बोकेको हुन्छ र त्यस अनुरूपको वातावरणको अभावमा सहकारीको विकास हुन सक्दैन भन्ने दृष्टान्त हामीले हाम्रै देशको अनुभवबाट सिकेका छौँ । विश्व सहकारी अभियान तिब्र रूपमा विस्तारित र लोकप्रिय भइरहेको अवस्थामा हाम्रो देशमा राज्य नियन्त्रित वातावरणमा ३ दशक सहकारी अभियान मुर्छित अवस्थामा रह्यो । २०४६ सालको राजनीतिक परिवर्तन पश्चात जब २०४८ को सहकारी ऐन आयो नेपाली जनताले आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका लागि सहकारीमा आवद्ध हुने अवसर प्राप्त गरे । देशका विभिन्न भुभागका विभिन्न समुदाय, वर्ग र पेशाका व्यक्तिहरूले उपयोग गर्दै सहकारी स्थापना गर्ने, सहकारीमा आबद्ध हुने र सहकारी अभियानमा सहभागी हुने क्रम बढेको गयो ।

२०४८ सालको सहकारी ऐनको आफ्नै महत्व र विशेषता छ । यो ऐनको उदारताका कारण नै आज नेपालमा सहकारी अभियानले विशाल स्वरूप लिएको छ । ५०औँ लाख मानिस सहकारीमा आबद्ध भएका छन्, दशौँ लाखले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । मुलुको गार्हस्थ उत्पादनमा सहकारीको योगदान ३ प्रतिशत भन्दा बढ्दो क्रममा रहेको छ । वित्तिय पहुँच नपुगेका जनताले सहकारी मार्फत वित्तिय सेवा सहजै प्राप्त गरेका छन् । उत्पादन, वितरण र वजारिकरणसम्मका विभिन्न विषयका सहकारी स्थापित भई क्रियाशिल छन् । नेपालको सहकारी क्षेत्रलाई यो अवस्थामा पुर्‍याउने श्रेय सहकारी ऐन २०४८ निर्माणका लागि योगदान पुर्‍याउनुहुने सम्पूर्णलाई जान्छ । मानिसको आवश्यक्ता समय अनुरूप परिवर्तन भएजस्तै आज सहकारी अभियानको आवश्यक्ता पनि हिजोको भन्द फरक छन् । आज सहकारीमार्फत मुलुकलाई समृद्धि तर्फ लैजान नयाँ सोच, नयाँ अवधारणाको खाँचो छ भने सहकारी अभियानलाई पनि त्यसका लागि सक्षम र सवल तुल्याउन विश्वसनिय, पारदर्शी र प्रतिष्पर्धि बनाउन जरूरी भएको छ । त्यसैका लागि सम्पूर्ण सहकारीकर्मी र राज्यले नयाँ सहकारी ऐनको आवश्यक्ता महशुस गरेको हो ।

विगत लामो समय देखि नयाँ सहकारी ऐनका विषयमा चर्चा चल्दै आइरहेको छ । नयाँ ऐन निर्माणका विभिन्न प्रक्रिया पनि पूरा भइसकेका छन् । तर पनि केहि विषयहरू अझ पनि विचार पुर्‍याउनुपर्ने र सम्बन्धित विभिन्न पक्षहरूको सुझावलाई समेटेर ल्याउनुपर्ने खाँचो छ । प्रत्येक ऐन निर्माणका आफ्नै प्रक्रिया हुन्छन् र राज्यले ती प्रक्रिया पूरा गरेर ऐन ल्याउन सक्छ । तर सहकारी ऐनको सन्दर्भ अरू भन्दा केहि संवेदनशिल पक्कै छ । राज्यले नै तीनखम्बे अर्थनीतिको अवधारणालाई आत्मसात गर्दै अर्थतन्त्रको पिलरको रूपमा सरकारी, नीजि र सहकारी क्षेत्रलाई लिएको छ । त्यसमध्ये सहकारी क्षेत्र यस्तो क्षेत्र हो जसले राज्य पुग्न नसकेको ठाउँका जनतासम्म पुग्ने र राज्यकै सानो स्वरूप (Mini State) का रूपमा काम गरेको छ । युवाहरूलाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने, विपन्न मानिसहरूको आर्थिक स्तर उठाउने, दलित, सिमान्तकृत र महिलाको शसक्तीकरण गर्ने जस्ता राज्यले लगानी गरेर चलाउनुपर्ने कार्यक्रम सहकारीले सम्बन्धित समुदायकै मानिसहरूको आर्थिक सहभागीतामा अघि बढाईरहेको अवस्था छ । यसलाई अझ प्रोत्साहित गर्न सहकारीको अधिकतम प्रवर्धन र विकास गर्नसक्ने ऐन आउनुपर्छ ।

अहिले सहरी क्षेत्रका सहकारीहरूमा देखिएका समस्या समाधान गर्न र विकृतिहरूलाई नियन्त्रण गर्न सक्ने ऐनको खाँचो पक्कै हो । ती समस्या निराकरण गर्नु राज्य र सहकारी अभियानको साझा चुनौती हो । यसलाई कुनै एक पक्षले मात्र समाधान गर्न सक्ने अवस्था रहँदैन ।  तसर्थ राज्य र सहकारी अभियानले मिलेर यसको बाटो तय गर्नुपर्छ । सहकारी क्षेत्रलाई गतिशिल, पारदर्शी र विश्वसनिय बनाउनका लागि सहकार्यको भावनालाई आत्मसात गरी व्यवहारमा लागु गर्न जरूरी छ । सहकारी अभियान भित्रै पनि कुनै कुरामा मतभेद रहेको भए सम्वाद र छलफलको माध्यमबाट निश्कर्ष मा पुग्नुपर्छ । त्यसो भयो भने राज्यसँग स्पष्ट रूपमा सहकारी अभियानको धारणा राख्न सकिन्छ । जसले हाल भईरहेको ऐन निर्माण प्रक्रियालाई अझ सहज बनाउँछ र सबै सहकारीकर्मीको हितमा हुने ऐन आउनेछ ।

आशा गरौँ ५९औँ राष्ट्रिय सहकारी दिवस नेपालको सहकारी अभियानलाई नयाँ दिशा र गति प्रदान गर्न कोशेढुंगा सावित हुनेछ । राष्ट्रिय सहकारी दिवसको अवसरमा सम्पूर्ण सहकारीकर्मीहरूलाई शुभकामना !

(ढकाल राष्ट्रिय सहकारी संघ लि.का सञ्चालक एवम् नेशनल कोअपरेटर्स एलाईन्स नेपलका महासचिव हुन् ।)


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक
सिवाईसी र कश्मिसेरा एकीकरण हुने
को–को परे कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा ?