चितवनमा तरकारी बजार स्थापना हुने
चितवन, चैत २१ । उपप्रधानमन्त्री तथा सहकारी एवम् गरिबी निवारणमन्त्री चित्रबहादुर केसी भरतपुरमा व्यवस्थित फलफूल तथा तरकारी बजार निर्माणका लागि सकारात्मक देखिएका छन् ।
फलफूल तथा ताजा तरकारी थोक व्यवसायी सङ्घले आज बजार निर्माणको माग गर्दा उनले निर्माणका लागि पहल गर्ने आश्वासन दिएका हुन् । व्यवसायीको मागप्रति सहमति जनाउँदै उनले उक्त विषय मन्त्रिपरिषद्मा उठाइने बताए । देशकै मध्य भागमा रहेको बजारबाट प्रत्यक्ष रुपमा किसान लाभान्वित हुनुपर्ने उपप्रधानमन्त्री केसीको भनाइ थियो ।
“कृषि कर्ममा लागेका आम नेपाली आत्मनिर्भर बन्नुपर्छ” उनले भने । केन्द्रीय बस ट्रमिनलसँगै रहेको सहकारी विकास बोर्डको दुई बिगाहा १० कट्ठा खाली जग्गामा जिल्लाकै नमुना थोक बजार निर्माणको माग व्यवसायीले गरेका छन् ।
कार्यक्रममा मन्त्रालयका सचिव शङ्कर अधिकारीले बोर्डको बैठकमा एजेण्डाको रुपमा सो प्रस्तावलाई लगिने बताए । सहकारी विकास बोर्डका सहअध्यक्ष शरद शर्माले खाली जग्गालाई उपयोग गर्ने नीति बनाएर कामअघि बढाइने बताए ।
कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजन गौतम र ताजा फलफूल तथा तरकारी थोक बिक्रेता सङ्घका अध्यक्ष थिरप्रसाद धितालले थोक बजार अतिआश्यक रहेको बताएका थिए ।