कास्कुनले जारी गर्‍यो ललितपुर जिल्ला संघबारे विज्ञप्ती


काठमाडौँ वचत तथा ऋण सहकारी संघ लि. (KASCUN) ले ललितपुर जिल्ला संघको आसन्न निर्वाचनका सनदर्भमा सहमतिमा नेतृत्व चयन गर्न सुझाव सहित विज्ञप्ति जारी गरेको छ । कास्कुन अध्यक्ष केशवप्रसाद दंगाल एवम् लेखा समिति संयोजक कमलराज अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘प्रतिष्पर्धाबाट सहकारी अभियानले अपेक्षित लक्ष्य हासिल गर्न नसकेको ‘ उल्लेख गर्दै  पछिल्लो समयमा सहकारीकर्मीहरूबाट सहमति र सहकार्यको संस्कार अँगाल्दै सवैको भावना समेट्ने गरी सर्वसम्मत नेतृत्व चयन गर्ने अभ्यास विभिन्न जिल्लामा भएको बताइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो केहि समययता सहमति र सहकार्यका आधारमा नेतृत्व चयन भएका काठमाडौँ लगायत रुपन्देही, चितवन, कैलाली, सुर्खेत आदि जिल्लाका संघहरूले सहकारी अभियानलाई स्थानिय तहमा एकढिक्का बनाएर लैजाने क्रम सुरुवात भइसकेको छ ।’

‘ललितपुर जिल्ला सहकारी संघले संस्थागत सहमति र सहकार्यको संस्कारलाई अवलम्बन गरी क्रमश: नयाँ नेतृत्व विकासलाई प्रोत्साहन गर्ने गरी सहकारी अभियानमा समर्पित सर्वस्विकार्य सहकारी अभियन्ताको नेतृत्व पंक्तीलाई सर्वसम्मत गरी अगाडि बढ्न सकोस्’ भन्दै विज्ञप्तिमार्फत शुभेच्छा व्यक्त गरिएको छ ।

गत महिना सम्पन्न काठमाडौँ वचत संघको साधारणसभामा काँग्रेस, एमाले  र माओबादी पक्षको त्रिकोणात्मक सहमतिमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । दंगाल एमाले निकट सहकारीकर्मी हुन् भने  अधिकारी काँग्रेस निकट नेशनल कोअपरेटर्स एलाईन्स नेपालसँग सम्बद्ध हुन् । सहकारी नेपाललाई प्राप्त विज्ञप्तिमा सम्पूर्ण कास्कुन पदाधिकारी, सञ्चालक एवम् लेखा समिति सदस्यहरूको नाम उल्लेख भए तापनि अध्यक्ष र लेखा समिति संयोजकको मात्र हस्ताक्षर छ । 


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक