डिजिटल रोलर मेसिनबाट माहुरीको आधारचाका उत्पादन सुरु


नारायण भण्डारी
तुलसीपुर, बैशाख ७ । जिल्लाका माहुरी पालक किसान आधारचाकालागि बाहिरी जिल्लाको भर पर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । पनवनगरमा रहेको मनकामना माहुरी फर्मले डिजिटल रोलर मेसिनबाट आधारचाकाको उत्पादन थालेपछि आधारचाकाका लागि जिल्ला बाहिर जानुपर्ने दाङका माहुरीपालक किसानको बाध्यता अन्त्य हुने भएको हो । जिल्ला कृषि विकास कार्यालयको पचास प्रतिशत अनुदानमा दुई लाखको लागतमा डिजिटल रोलर मेसिनबाट आधारचाका उत्पादन परियोजना सञ्चालनमा आएको हो ।

परियोजनाको दाङका बरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले आज उद्घाटन गर्नुभएको हो । मेसिनको उद्घाटन पछि बोल्दै बरिष्ठ कृषि विकास अधिकृत ज्ञवालीले जिल्लालाई माहुरीमा श्रोत सम्पन्न बनाउने उद्देश्य अनुसार अनुदानमा मेसिन उपलब्ध गराएको बताउनु भयो । कृषि विकास कार्यालयले माहुरीलाई प्राथमिकता राखेर कार्यक्रम सञ्चालन गरेको भन्दै ज्ञवालीले दाङलाई माहुरी जोन बनाउने प्रयास भइरहेको जानकारी दिए ।

देशैभर एक सय ८५ सुपर जोन बनाउने सरकारको उद्देश्य अनुसार दाङमा मकै, धान र माछाको सुपर जोनका लागि स्विकृती भइसकेको जानकारी दिँदै ज्ञवालीले माहुरीको सुपर जोनका लागि प्रयास जारी रहेको प्रष्ट पारे । जिल्लामा जमिन बाँझिने क्रम बढेसँगै माहुरीको चरन क्षेत्रको अभाव हुन थालेकोले चरन क्षेत्रको विकासमा लाग्न उहाँले माहुरीपालक किसानहरुलाई आग्रह गरे ।

कार्यक्रमका विशिष्ट अतिथि बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले दाङमा मौरी पालन ब्यवसायको सम्भावनालाई पछ्याउन सके धेरैलाई स्वरोजगार बनाउन सकिने बताए । मेलिफेरा मौरी ब्यवसाय जिल्लामा सफल रहेपनि सेराना मौरीलाई आधुनिक घारमा ब्यवस्थापन गर्न नसकिएको उहाँले बताउनु भयो । मुडे घारको सेराना मौरीलाई आधुनिक घारमा ब्यवस्थापन गर्न सकेमात्र उत्पादन दोब्बर गर्न सकिने अधिकृत बस्नेतले बताए ।

नेपाल माहुरीपालक महासँघ दाङका कोषाध्यक्ष नारायण प्रसाद पौडेलको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कृषि सेवा केन्द्र तुलसीपुरका निमित्त प्रमुख पशुपति शर्मा, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख नारायण भण्डारी लगायतका बक्ताले बाहिरी जिल्लाबाट आधार चाका ल्याउनु पर्ने माहुरीपालक किसानको बाध्यताको अन्त्य गर्ने गरी गुणस्तरिय आधार चाका उत्पादन गर्न आग्रह गरे ।

रोलर मेसिनले एक दिनमा ४० किलो ग्राम सम्म आधारचाका उत्पादन गर्न सक्ने मनकामना माहुरी फर्मका सञ्चालक दामोदर बस्यालले जानकारी दिए । जिल्लामा हाते क्लकबाट आधारचाका उत्पादन हुँदै आएपनि रोलर मेसिन भने पहिलो भएको सञ्चालक बस्यालले दावी गरे । कार्यक्रमको सञ्चालन प्राकृतिक मौरी पालन केन्द्र दाङका सञ्चालक माधव केसीले गरे ।


प्र तिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

बागमती प्रदेश सहकारी संघ ठोस कार्यक्रम सहित सक्रिय हुने
आइसीए एपीको क्षेत्रीय सभा सम्पन्न
भक्तपुर बचत संघको आमदानी दोब्बर
सहकारी अभियन्ता उद्धव सापकोटालाई पुत्री शोक